काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले भ्रष्टाचार काण्डहरु छानबिन गर्नका लागि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा शक्तिशाली समिति गठन गर्नुपर्ने जनाएका छन् ।
दल विशेषका शीर्ष नेताहरुले चिनेको व्यक्तिको नेतृत्वमा नभई पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा छानबिन भएमात्र निष्पक्ष ढंगले न्याय दिन सक्ने उनको धारणा छ ।
भ्रष्टाचार नियन्त्रणका लागि पाँच सय र एक हजार दरका नोट प्रतिबन्ध लगाउनुपर्ने धारणा पनि उनले राखे । यसो गर्दा भ्रष्टाचार नियन्त्रणमा सहयोग हुने उनको विश्वास छ ।
सत्तामा पुगेको व्यक्तिले भ्रष्टाचार गरेर रकम थुपारेको भ्रम फैलाइएको भन्दै उनले त्यसलाई नियन्त्रणका लागि पनि पाँच सय र एक हजार दरका नोट प्रतिबन्ध लगाउनुपर्ने धारणा राखे । ‘सत्तामा पुगेका मान्छेले बोराकाबोरा घरमा डम्प गरेर हजार–पाँच सयको नोट राखेको छ भन्ने भ्रम जानीजानी फैलाइएको छ,’ पूर्वमन्त्री समेत रहेका केसीले भने, ‘त्यसैले मैले धेरैचोटी संसदमा भनें पाँच सय र हजारका नोट ब्यान्ड गर्दिउँ । हेरौं कसले कति लुकाएको रहेछ त्यो पनि जनताका अगाडि स्पष्ट भएर जाओस् ।’


