गोदावरी । उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रलाई प्रोत्साहन गरी देशको अर्थतन्त्र सबल बनाउने सरकारको नीति रहेको जनाएका छन्।
कैलाली उद्योग वाणिज्य संघले आज धनगढीमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले देशको आर्थिक मेरुदण्डका रूपमा रहेको निजी क्षेत्रले देश निर्माणमा महत्वपूर्ण भूमिका खेलेको र यसमा थप सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताए।
मन्त्री भण्डारीले अर्थतन्त्रमा थप भूमिका खेल्ने गरी उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्नु सरकारको दायित्व रहेको धारणा राखे। ‘देशमा सञ्चालित ठुला, मझौला र कुटिर उद्योगीलाई प्रोत्साहन नगरेसम्म रोजगारीका अवसर सिर्जना गर्न सकिँदैन। त्यसैले रोजगारीका अवसरसँगै आत्मनिर्भर बन्ने खालका उद्योगलाई प्रोत्साहन गर्न सरकार लागिपरेको छ,’ उनले भने।
सरकारले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी देशभर ४१ जिल्लाका ६१ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको मन्त्री भण्डारीले जानकारी दिए।


