काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देश आर्थिक रुपले संकटमा जाने अवस्थामा रहेको जनाएका छन्।
मंगलबार पार्टीको आन्दोलनकेन्द्रित प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै लोहनीले देश आर्थिक रुपमा संकटको अवस्थामा रहेको जनाएका हुन्।
उनले देशको अवस्था कर्मचारीलाई तलब दिन पुग्नेसमेत नरहेको भन्दै विकासका काम गर्न नसक्ने अवस्था रहेको उल्लेख गरे। उनले ठूला राजनीतिक दलहरुले देशलाई माग्नेको स्थितिमा पुर्याएका जनाए ।
उनले देशको यस्तो अवस्थामा परिवर्तन वर्तमान शीर्ष राजनीतिक दलका नेताहरुबाट हुन नसक्ने दाबी गरे। उनले नेताहरु भ्रष्टाचारमा लिप्त भएर एकअर्कालाई बचाउन लागेका भन्दै उनीहरुबाट देशको अवस्था रुपान्तरण हुन नसक्ने उल्लेख गरे। उनले देशको वर्तमान अवस्थालाई परिवर्तन गर्नका लागि व्यवस्थाकै परिवर्तन गर्नुपर्ने जनाए । उनले त्यसका लागि संविधान नै परिवर्तन गर्नुपर्ने जनाए ।
पूर्वअध्यक्ष लोहनीले देशको अस्तित्व बचाउनका लागि अभिभावकीय भूमिकामा राजसंस्थालाई राख्नुपर्ने बताए। उनले राजसंस्थालाई सक्रिय रुपमा नभई संविधानभित्रको राजसंस्थाको रुपमा अभिभावकीय रुपमा राख्नु उपयुक्त हुने धारणा राखेका छन्।


