हरेक वर्षझैं यस वर्ष पनि माघ १६ मा सहिदहरुको बलिदानीलाई सम्झिँदै श्रद्धाञ्जलि अर्पण र विभिन्न कार्यक्रम गरी सहिद दिवस मनाइएको छ । नेपालमा विभिन्न कालखण्डमा विभिन्न आन्दोलनमा सहिद भएकाहरुको सम्झनामा यो दिवस मनाइँदै आएको हो । विसं। १९९७ सालमा तत्कालीन राणा शासनको विरोध गरेको आरोपमा केही युवालाई फासीको सजाय दिइएको थियो । त्यतिबेलाका चार जना सहिदसँगै अन्य कालखण्डमा भएका आन्दोलनका क्रममा देशमा धेरैले बलिदानीको रुपमा आफ्नो रगत चढाए । तर, पछिल्लो समय उनीहरुको योगदानअनुसार देशमा सुशासन र समृद्धि सम्भव नहुँदा यो दिवस मनाउनु फगत कर्मकाण्डी बनेको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको नेपाली बृहत् शब्दकोषमा उल्लेख भएअनुसार सहिद भन्नाले आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने व्यक्तिलाई बुझिन्छ । पछिल्लो समय जोसुकैलाई सहिद घोषणा गरिएको थियो । कुनै घटना वा दुर्घटनामा परेकालाई पनि सहिद घोषणा गरिँदा देशका लागि जीवन आहूति दिनेको अवमूल्यन भएको थियो । सहिद घोषणाका लागि राजनीतिक दलका बीचमा प्रतिस्पर्धा चल्ने गरेको देखिन्छ ।
अर्कोतर्फ राजनीतिक दलका नेताहरुले जुन आशा र सपना देखाएर जनतालाई आन्दोलनमा होमिन प्रोत्साहित गरे, तीमध्ये केहीले हासीहासी आफ्नो जीवनको बलिदानी नै दिए । उनीहरुको आन्दोलन र सहादतका कारण मुलुकमा हरेक पटक व्यवस्था बदलिएको मात्र छैन, त्यसैको जगमा टेकेर धेरैले राज्यको महत्वपूर्ण पदमा पुग्ने सौभाग्य पनि पाए । जनताका सन्ततिलाई नै सर्वेसर्वा बनाउने त्यस्ता आन्दोलनबाट लाभ भने सीमित वर्गले उठाएको देशको हालको अवस्थाले स्पष्ट हुन्छ ।
साढे दुई दशकयताकै माओवादी सशस्त्र जनयुद्धको क्रममा पनि थुप्रैले ज्यान गुमाए । त्यही युद्धको जगमा माओवादी पार्टी सत्तामा स्थापित भयो । यही पार्टीबाट थुप्रै प्रधानमन्त्री मन्त्री बने । तर, उनले जुन उद्देश्य लिएर युद्ध थालेका थिए, राजनीतिको केन्द्रमा आएपछि भने पूरा गर्न असफल भए । बरु त्यही पार्टीका नेताहरु अहिले नवसामन्त जसरी उदाहरहेका छन् । तिनै नेताहरु अहिले भ्रष्टाचार, अनियमितता जस्ता आरोपका कारण विवादित बनेका छन् । नेपालका सबैजसो दल यस्तै आन्दोलनबाट स्थापित भएका हुनाले ती आन्दोलनमा सहिद भएकाहरु बलिदानीलाई कुनै पनि दल तथा नेताहरुले पूरा गर्न सकेका छैनन् भन्न सकिन्छ । देशलाई समृद्ध बनाउनेतर्फ नेताहरु असफल त भए नै, सहिदका परिवारलाई पनि उनीहरुले बेवास्ता गर्दै आएका छन् । अहिले पनि सहिद परिवार आधारभूत आवश्यकताका लागि संघर्ष गर्नुपर्ने अवस्थामा छन् । उनीहरुको परिवारलाई राहत र कोही सदस्यलाई रोजगारीको व्यवस्था गर्न सरकार सफल हुन सकेको छैन । यसले पनि नेताहरुले सहिदको बलिदानीलाई बिर्सिएको भान हुन्छ । आगे नेताहरुलाई चेतना भया ! जनधारणा साप्ताहिकबाट