काठमाडाैं । बिचौलियामार्फत् घुस दिएको जनाएका जनता समाजवादी पार्टीका सांसद वीरेन्द्रप्रसाद महतोलाई कारबाही गर्न माग गर्दै प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ।
छोराको समकक्षता पत्र लिँदा शिक्षा मन्त्रालयअन्तर्गतको सानोठिमीस्थित कार्यालयलाई पाँच हजार रुपैयाँ दिएकाे उजुरी परेहकाे हाे ।
नेकपा (माओवादी केन्द्र) का मधेस प्रदेश सांसद रहवर अन्सारीले महतोलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने माग गर्दै बुधबार समितिमा निवदेन दिएका हुन्।
‘भ्रष्टाचार निवारण ऐन २०७९ को दफा ३ को उपदफा ३ मा रिसवत लिने/ दिनेलाई सजायको व्यवस्था छ। रिसवत् दिने कामलाई रोक्नुको सट्टा त्यसलाई प्रोत्साहन गरेको हुँदा महतोलाई कानुन बमोजिम कारवाही गरियोस्’ अन्सारीले निवेदनमा लेखेका छन्।
पूर्ववनमन्त्री समेत रहेका महतोले गत साउन ६ गते प्रतिनिधि सभाको रोस्टमबाट बोल्दै छोराको समकक्षता लिनका लागि आफूले ५ हजार घुस दिएको र घुस दिएपछि काम बनेको बताएका थिए। ‘म भूपू मन्त्री, मैले हिजो शिक्षा मन्त्रालयको सानोठिमीमा ५ हजार घुस दिएर आएको छु, कसले पत्याउँछ? पत्याउनु हुन्छ?
मेरो छोराको समकक्षता गर्नुपर्ने थियो, मैले ११ बजे पठाएको ३ बजेसम्म यो मिलेन त्यो मिलेन भने। म आफै गएँ, एउटा अधिकृतले कागज मिलेको छैन भने,’ उनले भनेका थिए, ‘कागज मिलेन भन्दै चिया खाने समय भयो भने ४ बजेसम्म आएनन्।
बिचौलियालाई गएर ५ हजार दिएँ, ५ मिनेटमा काम गरेर ल्याइदियो। अनि हामी सुशासनको कुरा गर्छौं।’ Ncell महतोको अभिव्यक्तिपछि छानबिन गर्न शिक्षा मन्त्रालयले पनि समिति बनाएको छ।
गृहमन्त्री रमेश लेखकले पनि यस घटनाबारे पूर्वमन्त्री महतोसँग पनि जानकारी लिइएको र थप अनुसन्धान गर्न प्रहरीलाई भनिएको जनाएका थिए।


