काठमाडाैं । वृक्षरोपणसहितका कार्यक्रम गरि मानव अधिकार तथा शान्ति समाजले ५२ औँ विश्व वातावरण दिवस मनाएको छ । विश्व वातावरण दिवस ५ जुनका अवसरमा २०८१ जेठ २३ गते विहान मानव अधिकार तथा शान्ति समाजका रुपन्देही, काठमाण्डौ, पाल्पा, चितवन र नवलपुर शाखाले वृक्षरोपण र दाङ शाखाले सफाई कार्यक्रम गरेका थिए । वातावरण संरक्षणको क्षेत्रमा सकारात्मक कदम चाल्ने आवश्यकताप्रति विश्वव्यापी रुपमा सचेतना फैलाउँदै, ध्यानाकर्षण गराउँदै ५ जुनलाई विश्व वातावरण दिवसका रुपमा मनाइन्छ । यो दिवस सकारात्मक परिवर्तनका लागि प्रेरित गर्ने वैश्विक मञ्च हो ।
सन् १९७२ को जुन ५ देखि १६ सम्म स्विडेनको राजधानी स्टकहोमममा मानव पर्यावरण सम्बन्धी राष्ट्रसंघीय सम्मेलन सम्पन्न भएको थियो । वातावरण सम्बन्धी यो नै पहिलो विश्व सम्मेलन थियो जस्ले वातावरण संरक्षणमा केन्द्रीत रहि २६ वटा सिद्धान्तहरुसहित घोषणापत्र कार्ययोजना जारी गरेको थियो । राष्ट्रसंघीय वातावरण कार्यक्रमको सिर्जना स्टकहोम सम्मेलनकै परिणाम थियो भने त्यस्को १ वर्षपछि ५ जुन १९७३ मा पहिलो विश्व वातावरण दिवस मनाइएको थियो ।
स्वच्छ वातावरण उपभोग गर्न पाउने अधिकार आधारभूत मानव अधिकार हो । जगतमुखी अभियानमा समर्पित मानव अधिकार तथा शान्ति समाजले २०६४ सालबाट जलवायु परिवर्तन र विश्वव्यापी उष्णताबाट परेको प्रभावबारे सचेतना र हिमालय बचाऔः नदी जोगाऊ आन्दोलन सञ्चालन गर्दै आएको छ ।