काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसमेत मुछिएको सहकारी संस्थाको बचत रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर)मा सहमति जुटाउन गठित कार्यदलको बैठक आज पनि बस्दै छ ।
बैठक आज बिहान ८ बजे बस्ने तयारी छ । हिजो बैठकमा कार्यदलका सदस्यहरुबीच छलफल भए पनि सहमति नजुटेकाले शीर्ष नेताहरुको परामर्शपछि आज बिहान पुनः बैठक बस्न लागेको हो ।
हिजोको बैठकमा सत्ता पक्ष एमाले र रास्वपाले सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मी, सानो पाइला लगायतका सहकारीको नाम उल्लेख गर्ने तर उपप्रधानमन्त्री रवि लामिछानेको नाम उल्लेख नगर्ने प्रस्ताव गरेका थिए । यो प्रस्तावमा कांग्रेस लचक भएको र शीर्ष नेताहरुसँग छलफल गरेर पुनः बैठक बस्ने सहमति अनुसार शुक्रबार बिहान बैठक बस्न लागेको एमाले नेता महेश बर्तौलाले जानकारी दिए ।
कार्यदलमा रहेका नेपाली कांग्रेसका सांसद जीवन परियारका अनुसार सत्तापक्षले गृहमन्त्रीको नाम नराखीकन पनि छानबिनको दायरा फराकिलो बनाउन सकिन्छ भन्ने प्रस्ताव गरेको भन्दै गोलमटोल भाषाले छानबिन अगाडि बढ्न नसक्ने बताएका थिए ।
झण्डै दुई महिना लामो विवाद र संसदमा निरन्तरको अवरोधपछि ५ जेठमा प्रमुख दलका शीर्ष नेताहरुले संसदीय छानबिन समितिको कार्यादेश बनाउन कानुनमन्त्री पदम गिरीको नेतृत्वमा कार्यदल बनाएका थिए ।
कार्यदलमा एमाले प्रमुख सचेतक बर्तौला, कांग्रेस सहमहामन्त्री परियार र रास्वपा सांसद शिशिर खनाल छन् । कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की पनि कार्यदलको बैठकमा नियमित सहभागी हुँदै आएका छन् । कार्यदलको बैठक दिनहुँजसो बस्दै आए पनि संसदीय समितिको कार्यादेशमा सहमति जुट्न सकेको छैन ।
आज संसदीय समितिको कार्यादेश टुंगो लगाएर सहज ढंगले संसद बैठक सन्चालन गर्ने तयारी सत्ता पक्षको छ । आजको बैठकबाट सरकारको नीति तथा कार्यक्रम पारित गर्ने सम्भावित कार्यसूची छ ।


