काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीति क्षणिक स्वार्थ र लाभका लागि गर्नु नहुने बताएका छन्। बिहीबार सुनसरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीति देश, जनता र सत्य स्थापनाका लागि हुनुपर्ने बताएका हुन्।
उनले नेपाली कांग्रेसले संसदमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाउँदै संसद अवरुद्ध गरिरहेको र एउटा पात्रका विरुद्ध खनिएको भन्दै आपत्ति जनाए।
उनले कांग्रेसजस्तो पार्टी रवि लामिछानेको विरुद्धमा खनिनु भनेको भँगेरा मार्न तोप बोकेर जानुसरह भएको टिप्पणी गरे। उनले कांग्रेसले अघिल्लो दिन प्रधानमन्त्रीमा प्रस्ताव गर्ने र प्रस्ताव नमानेपछि सहकारी ठगको आरोप लगाउने अर्घेल्याइँ गरेको आरोप लगाए।
उनले भने, ‘कांग्रेसजस्तो पार्टी रवि लामिछानेका विरुद्ध खनिएको छ। के खनिनु। भँगेरा मार्न जाने तोप बोकेर। बल्लबल्ल राजनीतिमा आएको, एक वर्ष भयो। खैर, अहिलेको उपप्रधानमन्त्री हुनुहुन्छ उहाँ, म सम्मान गर्दछु उहाँलाई उपप्रधानमन्त्रीको हैसियतले। तर नेपाली कांग्रेसले दुईतिरबाट अर्घेल्याइँ गरेको छ।’


