काठमाडौं । प्रतिनिधि सभा बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेको सचिवालयले यस्तो जानकारी दिएको हो ।
शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेका लागि सरेको थियो । प्रतिनिधि सभाको अर्काे बैठक जेठ ६ गते बिहान ११ बजे बस्नेछ । यसबीचमा कांग्रेससहित विपक्षी दलहरूबीच छलफल भएको थियो । संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने उनीहरूबीच निर्णय भएको थियो ।
यता, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच पनि छलफल भएको थियो ।
आजै साँझ बस्ने गरी प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेताहरूलाई छलफलका लागि डाकेका छन् । गृहमन्त्री लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै कांग्रेसले सदन अवरोध गर्दै आइरहेको छ ।