काठमाडौं । सर्लाही, पर्सा गाउँपालिका-२ संग्रामपुर बस्ने उमेश ठाकुरको टेन्टको सामान राखेको घरमा बुधबार राति आगलागी हुँदा टेन्टका विभिन्न सामानहरू पूर्णरूपमा जलेर करिब ६९ लाख ११ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
अछाम, मेल्लेख गाउँपालिका-७ नन्देगडा बस्ने जमुना देवी दमाईको कपडा पसलमा विद्युत सर्ट भई बुधबार राति आगलागी हुँदा ४ थान सिलाई मेसिन, कपडा र नगद ५ लाख रूपैयाँ जलेर नष्ट भएको छ । साथै सोही आगो फैलिएर सोही ठाउँ बस्ने अमर साउदको घर समेत जलेर क्षति भएको छ ।
कास्की, पोखरा महानगरपालिका-१३ विपी मार्ग बस्ने ४६ वर्षीय भुषण प्रसाद जैसवालको स्नेहा स्टोर्स र तिलु स्याङताङको आईफ किराना पसलमा गएराति आगलागी हुँदा सिसिटिभी, क्यामेरा, कम्प्युटर मनिटर लगायत विभिन्न सामानहरू जलेर करिब ३ लाख ८० रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानिय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


