काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले २२ औँ सत्याग्रह सुरु गरेका छन्।
उनले शनिबार अपराह्न ४ बजेबाट पशुपति मृगस्थलीमा २२ औँ सत्याग्रह सुरु गरेका हुन्।
चार बुँदे माग राखेर अनसन सुरु गरेका डा. केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामासमेत माग गरेका छन्।
साथै उनले सबै नेपालीलाई निःशुल्क उपचारको व्यवस्था हुनुपर्ने माग राखेका छन्।
यसअघिको सम्झौताअनुसार गेटा स्वास्थ्य विज्ञान प्रतिष्ठान तुरुन्त सञ्चालनमा ल्याउनुपर्ने तथा मधेस र गण्डकी प्रदेश, इलाम, उदयपुर र डडेलधुरामा तुरुन्त मेडिकल कलेज निर्माण सुरु गर्नुपर्ने, उच्च शिक्षा ऐन र एकीकृत प्रतिष्ठान सम्बन्धित ऐन तुरुन्त पारित गर्नुपर्ने उनको माग छ।
गौरीबहादुर कार्की आयोगले दोषी ठहर गरेका व्यक्तिहरुलाई कारबाही गर्नुपर्ने पनि उनको माग छ।


