काठमाडौं । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफ्नो नेतृत्वमा पार्टी विभाजन हुँदैछ भन्ने हल्ला निराधार भएको दाबी गरेका छन्।
जसपा विभाजन भएसँगै एकीकृत समाजवादी पनि विभाजनको अवस्थामा रहेको चर्चाका बीच खनालले बुधबार विज्ञप्ति निकालेर पार्टीमा कुनै समस्या नभएको जनाएका हुन्।
पार्टी विरोधी तत्वहरुले झलनाथको नेतृत्वमा विभाजन हुन लागेको भनेर हल्ला चलाएको उनको दाबी छ।
खनालले भनेका छन्, ‘केही दिनदेखि हाम्रो गौरवमय पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पनि विभाजित हुँदैछ, ६ जना सांसद लिएर झलनाथ खनालले संसदीय दल फुटाउँदै छन् भन्ने हल्ला बडो तीब्र रुपले फैलाइएको छ । केही अवाञ्छित, स्वार्थी र कम्युनिष्ट विरोधी तत्वहरुले सुनियोजित रूपले यस्तो प्रचार गरेका छन् । त्यसले पार्टी व्यापी रुपमा एउटा भ्रमको कुहिरो फैलाइदियो ।’
खनालले पार्टी विरोधी छुद्रहरुले चलाएको हल्लाको पछि नलाग्न कार्यकर्तालाई आह्वान गरेका छन्।
खनालले भनेका छन्, ‘पार्टीका सम्पूर्ण नेता कार्यकर्ता, समर्थक र शुभेच्छुक कमरेडहरू तथा साथीहरू १ प्रतिकृयावादीहरू, औसरवादीहरू र पार्टी विरोधी क्षुद्र तत्वहरूका यस प्रकारका अनर्गल प्रचारबाट होसियार बनौं, वर्तमान नयाँ समिकरणमा हाम्रो समर्थन र सहभागितालाई जारी राखौं, पार्टी महाअधिवेशनको तयारीमा हरेक प्रकारले एकताबद्ध भएर जुटौं।’



