लन्डन । गोर्खा समस्याबारे बुधबार भएको त्रिपक्षीय वार्ता सकिएको छ । बेलायतको रक्षा मन्त्रालयमा करिब साढे एक घण्टा भएको वार्तामा नेपाल पक्षले समान पेन्सनको विषय जोडदार रूपमा उठाएको थियो ।
वार्तामा सहभागी बेलायतका भेट्रान एन्ड पिपुल मिनिस्टर डा. एन्ड्रयू मरिसनले कानूनी आधार देखाउँदै माग पूरा गर्न नसकिने बताएका थिए । वार्तापछि नेपाली दूतावास लन्डनले गोर्खाहरूलाई संयम हुन आव्हान गरेको छ । र पुनः वार्तामा बस्ने माहौल बनाउने दूतावासले आश्वासन दिएको छ । अबको वार्तामा कानूनी विज्ञसहितको टिम, अन्य विभिन्न क्षेत्रका विज्ञहरू र गोर्खा संस्थाका लिडरलाई समावेश जनाइएको छ ।

वार्तामा नेपाल सरकारका तर्फबाट बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, परराष्ट्र मन्त्रालयअन्तर्गत युरोप अमेरिका महाशाखा प्रमुख सहसचिव गणेश ढकाल, सैनिक सहचारी कर्णेल अनुप शाह र उपनियोग प्रमुख रोशन खनाल सहभागी थिए ।यस्तै, बेलायती पक्षबाट भेट्रान एण्ड पिपुल मिनिष्टर डा. एन्ड्रयू मरिसन सहभागी थिए ।
गोर्खाका तर्फबाट मेजर जुदबहादुर गुरुङ, बीजीडब्लूएस अध्यक्ष मेजर रि. टिकेन्द्र दल देवान जेपी, गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई, गेसो उपसभापति धर्म तामाङ, नेसा अध्यक्ष केशबहादुर गुरुङ र अनसनकर्ता ज्ञानराज राई सहभगी थिए ।


