काठमाडौं । सत्ता साझेदार दल नेकपा (एमाले) का संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारको आलोचना नगर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन् । मङ्गलबार बसेको संयुक्त (राष्ट्रियसभा र प्रतिनिधिसभा) एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले सरकारको आलोचना गर्नैपरे आन्तरिकरूपमा गर्न निर्देशन दिएका हुन् ।
“सरकारको आलोचना गर्ने होइन, म दोहोर्याएर भन्न चाहन्छु- सरकारको कुनै आलोचना गर्ने हो भने आन्तरिकरूपमा गर्दा हुन्छ,” उनले भने । यस्तै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मुक्तकण्ठले विश्वासको मत दिन सांसदहरूलाई ह्वीप जारी गरे ।
अनुचित गठबन्धन तोडेर उचित गठबन्धन बनाउन पहल गरेको भन्दै उनले भने, “उचित गठबन्धन बनाउने पहलका लागि प्रधानमन्त्रीजीप्रति धन्यवाद छ । त्यसैले उहाँलाई हामीले खुल्ला हृदयका साथ विश्वासको मत दिन्छौँ ।”


