काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई खोज्न संसदीय समिति बनाउनु पर्ने भन्दै कटाक्ष गरेको छन्।
सभामुखले पटक-पटक रुलिङ गर्दा पनि प्रधानमन्त्री दाहालले संसदमा आएर जवाफ नदिएको भन्दै एमालेले उनको खोजिका लागि संसदीय समिति नै बनाउन प्रस्ताव गरेको हो।
बालकुमारी घटनामा मुछिएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, टेरामक्स प्रकरणमा तानिएका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई राजीनामा गराउन विपक्षी एमालेसहितका दलले माग गर्दै आएका छन्।
सदनमा पटक-पटक विपक्षीले आवाज उठाएपछि सभामुख देवराज घिमिरेले सरकारलाई रुलिङ गरे पनि प्रधानमन्त्रीले जवाफ दिएका छैनन्।
शुक्रबार एमालेका सांसद सूर्य थापाले भने, ‘सभामुखले फागुन ६, ८, १४ गते रुलिङ भयो। तर प्रधानमन्त्री आउनुभएन। सरकार संसदप्रति उत्तरदायी भएन। बालकुमारी घटनाका दोषी मन्त्रीले राजीनामा दिन केले रोक्यो? राजीनामा नदिए बर्खास्त गर्न के ले रोक्यो?’
थापाले अगाडि भने,’प्रधानमन्त्रीको खोजी गर्न छानबिन समिति नै बनाउनुपर्ने हो? के गर्यो भने संसदले प्रधानमन्त्री देख्न पाउँछ? सभामुख महोदय?’
त्यस्तै, राप्रपाका संसदीय दलका नेता राजेन्द्र लिङ्देनले पनि मिटरव्याज पीडित, लघुवित्त पीडितको समस्या समाधान गर्न माग गरे। ‘दुग्ध किसानको पैसा सरकारले किन दिन सक्दैन?,’लिङ्देनले भने।
सभामुख घिमिरेले फागुन २१ गते विपक्षी उठाएका विषयमा जवाफ दिन फेरि निर्देशन दिएपछि विपक्षी दलहरु सदन चलाउन तयार भएका छन्।


