काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले नेपाली जनताले गणतन्त्रको विकल्प नखोजेको दाबी गरेका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी स्थायी समिति बैठकपछि सञ्चारकर्मीमाझ उनले विश्वकै लागि मोडेलको रुपमा रहेको संघीयता, गणतन्त्र र धर्म निरपेक्षताको विकल्प नेपाली जनताले नखोजेको दाबी गर्दै त्यसलाई अझ बढी उन्नत ढंगले अघि बढाउनुपर्ने आवश्यकता औंल्याए।
उनले सामाजिक न्यायसहितको सुशासन र समृद्धि नेपाली जनताको अहिलेको अपेक्षा रहेको उल्लेख गर्दै सोहीअनुसार अघि बढ्न परिवर्तनका पक्षधर राजनीतिक शक्तिहरु एक ठाउँमा आउनुपर्ने जनाए । प्रवक्ता सापकोटाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई धुमिल बनाउने कुनै पनि दुष्प्रयासहरु सफल नहुने पनि जनाए।
उनले भने, ‘म के भन्छु भने धेरै ठूलो कुर्वानी गरेर हामीले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता अनि त्यस्तै गरेर समानुपातिक समावेशी सिद्धान्त, जो ल्याएका छौँ, यो धेरै ठूलो कुरो छ, धेरै महत्वपूर्ण कुरा छ। यो नेपाल राष्ट्रका लागि मात्रै नभइकन विश्वकै लागि एउटा मोडेल छ। यसलाई धुमिल पार्नका लागि, यसलाई ओझेलमा पार्नका लागि पछाडि फर्काउन दुष्प्रयासहरु भइरहेका छन्। म तपाईहरु स्पष्ट रुपमा भन्न चाहन्छु कि यो इतिहासको चक्का पछाडि फर्कन सक्दैन। अब पनि मलाई के लाग्छ भने नेपाली जनताले लोकतन्त्रको विकल्प खोजेका छैनन्, उन्नत लोकतन्त्र खोजेका छन्।’


