नेशनल अकाउन्टाबिलिटी ब्युरो (एनएबी) का न्यायाधीश मोहम्मद बशिरले बुधबार रावलपिण्डीमा खान र बिबीलाई १४ वर्ष जेल सजाय सुनाएको पाकिस्तानी समाचार संस्था द डनले जनाएको छ।
राज्यले प्राप्त गरेका उपहार बेचेको आरोपमा उनीहरूलाई ७८७ मिलियन पाकिस्तानी रुपैयाँ जरिवानासहित जेल सजाय सुनाइएको हो। अब खान दम्पती १० वर्षसम्म कुनै पनि सरकारी पदका लागि अयोग्य ठहर भएका छन्।
मंगलबार मात्रै साइफर मुद्दामा एक विशेष अदालतले खान र पूर्वविदेशमन्त्री शाह महमुद कुरेसीलाई १० वर्ष जेल सजाय सुनाएको थियो। सामान्य भाषामा साइफर भनेको गोप्य तरिकाले प्रस्तुत गरिने सूचना/सन्देश हो।
खान र कुरेसीले राज्यको गोप्य सूचनाको दुरूपयोग गरी चुहाएको आरोप छ।
त्यसअघि राज्यले प्राप्त गरेको उपहार बेचेको मुद्दा (तोशाखाना मुद्दा) मा इस्लामावादको उच्च अदालतले खानलाई ३ वर्ष जेल सजाय सुनाएको थियो।
पाकिस्तानमा फेब्रुअरी ९ मा आमनिर्वाचन छ। खान अध्यक्ष रहेको पाकिस्तानी तहरिक-इ-इन्साफ पार्टीले पनि निर्वाचनमा भाग लिँदैछ। तर चुनाव नजिकिएसँगै खानविरूद्ध एकपछि अर्को जेल सजाय सुनाइएको हो। उनले प्राप्त गरेको जेल सजायको भुक्तानी कसरी हुन्छ भन्ने यकिन भइसकेको छैन।


