काठमाडाैं । राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत बागमती प्रदेशको हेटौँडास्थित भुटनदेवी मावि मतदान केन्द्रमा मतदान चलिरहेको छ। बिहान ९ बजेबाट दिउँसो १ बजेसम्म तीन सय ३८ जनाले मतदान गरेका छन्।
बागमती प्रदेश निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलका अनुसार कुल तीन सय ४७ जना मतदाता रहेकामा अहिलेसम्म तीन सय ३८ जनाले मतदान गरेका हुन्।
प्रदेश सभा सदस्यतर्फ एक सय १० मध्ये एक सय पाँचजना तथा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी दुई सय ३७ मतदातामध्ये दुई सय ३३ जनाले मतदान गरेका छन्।
निर्वाचन अधिकृत सञ्जेलले ३ बजेसम्म मतदानको समय तोकिएकाले ३ बजेसम्म नै मतदानका लागि पर्खने बताए।
फागुन २० गतेबाट रिक्त हुने राष्ट्रिय सभाको १९ सिटमध्ये बागमती प्रदेशअन्तर्गत अन्य, महिला, अल्पसंख्यकरअपांगता र दलित गरी चार सिटमा निर्वाचन प्रक्रिया जारी छ।
निर्वाचनका लागि सत्तागठबन्धनका तर्फबाट कांग्रेसका दुई तथा माओवादी र एकीकृत समाजवादीका एक–एकजनाले उम्मेदवारी दिएका छन् भने एमालेका चार, राप्रपाका तीन तथा नेमकिपाका चारजना उम्मेदवार छन्।


