काठमाडाैं । पुष २७ गतेबाट प्रदर्शन हुने कथानक ‘चित्रा’ को ट्रेलर सार्वजनिक भएको छ।
२ मिनेट ५९ सेकेन्डको ट्रेलरले बुवाछोरीको सम्बन्धको कथालाई समेटेको छ। पारिवारिक कथासहित एक्सनको समिश्रणले ट्रेलर रमाइलो बनेको छ।
यस कथानक चलचित्रमा अर्पण थापा,प्रमोद अग्रहरी, मेनुका प्रधान, प्रकाश घिमिरे, शुभेच्छा थापा, अन्जना बराइली, सन्तोष अधिकारी, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल लगायतका कलाकारको अभिनय छ। घनश्याम लामिछानेको निर्देशित फिल्ममा अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको छ।
निर्देशक घनश्यामले कथानक ‘पञ्चेबाजा’ बनाएपछि प्रशंसा बटुलेका थिए। बाबुछोरीको कथा बोकेको चित्राका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष अधिकारी कार्यकारी निर्मातामा रहेका छन्।
महेश पौडेलले छायाङ्कन गरेको चलचित्रमा सम्पादन बनिश शाह र सन्देश शाहले गरेका हुन्।
सन्तोष अधिकारी फिल्म्सको ब्यानर तथा अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको चलचित्रको नेपालभरको वितरणको जिम्मा केदार पराजुलीको श्री कृष्ण फिल्म्सले लिएको छ।
चलचित्रको अष्ट्रेलियाको अधिकार अविनास रोका मगरले लिएका छन्। (भिडिओ)
)


