काठमाडौँ / प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनालाई कमजोर बनाउन खोज्ने गिरोहले सेनाभित्रका व्यक्तिहरुको जन्ममितिमा विवाद झिकिदिएका बताएका छन्।
बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रधानसेनापति शर्माले नेपाली सेनाभित्र कसैको पनि उमेरमा विवाद नभएको दाबी गरे। नेपाली सेनाका तत्कालीन उपरथी ताराध्वज पाण्डे र नेपाली सेनाका रथी अशोकराज सिग्देलको जन्ममितिमा विवाद नभएको उनको भनाइ थियो।
उनले आफूहरुले जिल्ला प्रशासन कार्यालय, एसएलसी बोर्ड र त्रिभुवन विश्वविद्यालयसँग पनि बुझेको भन्दै ती सबै कागजपत्र हेर्दा उमेरमा विवाद नदेखिएको जिकिर गरे।
उनले सेनालाई गिराउन खोज्ने तत्वले अनावश्यक विवाद निकालेका बताए। उनले कागजात सही हुँदाहुँदै पनि उपरथी पाण्डेले विवादमा परेपछि आफूसँगको सल्लाहमा नै राजीनामा दिएको दाबी गरे।
उनले भने, ‘एउटा तत्व छ नेपाली सेनालाई कमजोर बनाउने, अरुको अगाडि गिराउन खोज्ने यो गिरोहको काम हो। विवाद मात्रै ल्याएर हुँदैन। ती विवाद ल्याउनेलाई कारबाही गर्ने कानुन हुनुपर्यो। जे पनि बोल्न पाइने, जे पनि भन्न पाइने, उनीहरुलाई कसैले केही कारबाही नहुने भएपछि त जे पनि भन्दिन्छन् नि। यी पनि जसले यो कुरा ल्यायो, जसले नेपाली सेनालाई बर्बाद गर्नेतिर लाग्यो तिनलाई पनि कारबाही गर्ने कानून हुनुपर्यो। नेपाली सेनाले कहिल्यै पनि गलत कामलाई ठीक भन्दैन । पत्याउँदैन।’


