बुटवल / प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले युवामा बढ्दै गएको निराशा अन्त्य गर्नुपर्ने बताएका छन् । त्यसका लागि युवामैत्री नीति तथा कानुन र योजना निर्माण गर्नु पर्नेमा उनले जोड दिएका छन् ।
प्रतिनिधिसभा देशमा बढ्दो बेरोजगारी, युवामा बढेको निराशा अन्त्य गर्ने विषयमा गम्भीर रहेको र त्यही अनुसारका कानुन निर्माणलाई प्राथमिकता दिँदै आएको पनि उनले बताए । ‘सक्षम युवा, सुदृढ देश : सुशासनका लागि समुन्नत परिवेश’ भन्ने नाराका साथ शुक्रबारदेखि बुटवलमा सुरु भएको नेपाल जेसिजको ५० औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै सभामुख घिमिरेले देशको विकास र आर्थिक विकासका लागि युवाको परिचालन र योगदानको खाँचो रहेको बताए ।
‘देशको युवा शक्तिको अधिकतम प्रयोगबिना अहिलेको निराशा अन्त्य हुँदैन,’ उनले भने, ‘त्यसका लागि पहिलो प्राथमिकता युवामैत्री कानुन निर्माण र योजनाको तयारी हो, त्यसमा संसद् गम्भीर र प्रतिबद्ध छ ।’
युवाहरुलाई प्रत्यक्ष जोडेको जेसिजका अभियानहरु राष्ट्रिय राजनीतिको भन्दा पनि उत्तम रहेको उनले बताए । उनले जेसिजको मूल्य मान्यतालाई सबै युवाहरुले आत्मसाथ गरेर पालना गर्न पनि सुझाव दिए ।
सभामुख घिमिरेले जेसिजभित्र एक पटकमा एउटा मात्र पदको जिम्मेवारी र नेतृत्व पाउने विधि अन्य संघ संस्थाले पनि अनुकरण गर्नु पर्ने बताए । जेसिजमा १८ वर्षदेखि ४० वर्ष उमेर हद लागू हुनु पनि आफैंमा सकारात्मक अभियान भएको उनले बताए । ‘त्यो नेपाली राजनीतिमा पनि कार्यान्वयन भए धेरै सुधार हुन्थ्यो होला,’ उनले भने, ‘नेपाली राजनीतिमा ६० वर्ष उमेर काटेका नेताहरुले पनि जेसिजबाट सिक्नुपर्छ ।’ उनले पछिल्ला वर्षहरुमा राजनीतिमा युवा आकर्षण बढेको र त्यसले विदेश पलायन रोक्न सहयोग गर्नु पर्ने बताए ।
नेपाल जेसिजका पूर्वअध्यक्ष तथा महाधिवेशन निर्देशक जगतबहादुर पोखरेलले जेसिजको नियमबाट अन्यले पनि पाठ सिक्न जरुरी रहेको बताए । उनले बोल्नेभन्दा पनि काम गर्ने परिपाटीको विकास हुनुपर्ने बताए । बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलमा जेसिसको महाधिवेशनले राष्ट्रिय सन्देश दिएको बताए । सोमबारसम्म चल्ने जेसिजका लागि देशभरबाट झण्डै ५ सय प्रतिनिधि र पर्यवेक्षक बुटवलमा भेला भएका छन् । अधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्ने राष्ट्रिय अध्यक्ष विकास मानन्धरले बताए ।

