काठमाडौँ / सर्वोच्च अदालतले माइतीघरदेखि बानेश्वरसम्मको क्षेत्रलाई निषेधित घोषणा गर्नुको कारण पेश गर्न सरकारका नाउँमा आदेश जारी गरेको छ।
एमाले र व्यवसायी दुर्गा प्रसाईले बिहीबार एकै दिन प्रर्दशन गर्न खोजेपछि सरकारले एक महिनाका लागि माइतीघर-नयाँ बानेश्वर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेर सार्वजनिक कार्यक्रम गर्न रोक लगाएको छ।
उक्त निर्णयविरुद्ध अधिवक्ताहरु स्वागत नेपाल, प्रेमराज सिलवाल र त्रिलोकबहादुर चन्दले दायर गरेको छुट्टा छुट्टै रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश आनन्द मोहन भट्टराईको एकल इजलासले कारण पेश गर्न आदेश दिएको हो। सर्वोच्चले अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई उपस्थित हुन समेत भनेको छ।
अधिवक्ताहरुले शान्तिपूर्ण रुपमा भेला भएर प्रर्दशन गर्न पाउने नागरिकको मौलिक हकमा सरकारले बन्देज लगाउन नमिल्ने जिकिर गरेका छन्। आफ्ना मत जाहेर गर्न नागरिकत सडकमा आउनु स्वभाविक भएकाले यसमा सरकारको हस्तक्षेप गैरसंवैधानिक र गैरकानुनी रहेको उनीहरुको दाबी छ।

