काठमाडाैं । दोस्रो जनआन्दोलनको सिलसिलामा २०६२ सालमा १२ बुँदे सम्झौता गरेका तत्कालीन ७ दल र माओवादी घटकले गणतन्त्रविरुद्ध प्रहार शुरु भएको निष्कर्षसहित मिलेर प्रतिवाद गर्ने सहमति गरेका छन् ।
प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलवार सिंहदरबारमा आयोजना गरेको बैठकमा १२ बुँदे पक्षधर शक्तिबीच गणतन्त्रको रक्षाका लागि मिलेर अघि बढ्ने सहमति भएको हो ।
बैठकपछि माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले गणतन्त्रप्रति छिटपुट प्रहार भइरहेकोले मिलेर प्रतिवाद गर्ने सहमति भएको जानकारी दिइन् । ‘१२ बुँदे समझदारी र संविधानसभा पक्षधर परिवर्तनकारी दलका नेताहरूको बैठकमा मुलुकको राजनीतिको आवधिक समीक्षा भएको छ’ भुसालले भनिन्, ‘तीनवटै दलका नेताले गणतन्त्रप्रतिको प्रतिबद्धता दोहोर्याउँदै यदाकदा छिटपुट रुपमा उठेका प्रहारको मिलेर प्रतिवाद गर्ने निर्णय भएको छ ।’
बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको अकर्मण्यताका कारण गणतन्त्रविरुद्ध प्रहार भएको बताएका थिए । एमाले सचेतक महेश बर्ताैलाले सरकारले डेलिभरी दिन नसक्दा व्यवस्थाप्रति नकारात्मक भाव उत्पन्न गराउने खेती भएको बताए । ‘जनताले चिनी किन्न पाउँदैन, जनतामा निराशा आयो । सरकारको अकर्मण्यताका कारण व्यवस्थामाथि प्रहार हुन थालेको कुरा हामीले बैठकमा राख्यौ’ बर्तौलाले भने ।
बैठकमा एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलगायत सहभागी थिए । मूलधारका राजनीतिक दलप्रति आक्रोश बढाउने, राजतन्त्रको नारा लगाउने र अराजकता फैलाउन दुर्गा प्रसाईँ सक्रिय भएकोले उनका क्रियाकलापलाई छुट दिन नहुने बैठकमा कुरा उठेको थियो । प्रसाईँले मंसिर ७ गते गणतन्त्रविरुद्ध काठमाडौंमा प्रदर्शन गर्ने तयारी गरेका छन् ।


