काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले यो वर्ष नेपाली क्रिकेटका लागि धेरै राम्रो भएको उल्लेख गर्दै अब आईसिसी ट्वान्टी–२० विश्वकपतर्फ ध्यान रहेको बताएका छन्।
ओमानसँगको फाइनलमा हारपछि उनले यो हारबाट हतोत्साहित हुनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै समग्रमा यो वर्ष नेपाली खेलाडीले धेरै राम्रो गरेको धारणा राखे।
एउटा फाइनल हेरेर मात्र हुँदैन, समग्रमा यो वर्ष खेलाडीले धेरै मेहनत गरेको उनले बताए।। मोन्टीले ब्याटिङमा राम्रो गरे पनि बलिङतर्फ पावरप्लेमा केही गल्ती भएको बताए। खेल बराबर भएपछि सुपर ओभरमा धकेलिएको थियो। तर, सुपर ओभरमा नेपालले राम्रो गर्न नसक्दा हार व्यहोर्यो।
उनले ट्वान्टी–२० को राम्रो बलरका रूपमा अविनाश बोहोरालाई नै सुपर ओभरमा प्रयोग गरिएको उल्लेख गरे। यद्यपि, आज उनले दबाब राम्रोसँग थेग्न नसकेको बताए।
विवेक यादवजस्ता खेलाडी अगाडि आउनु पनि सुखद् पक्ष रहेको प्रशिक्षक मोन्टीको बुझाइ छ। स—साना बच्चाहरू क्रिकेट हेर्न आउनु भनेको नेपालका लागि सुखद् पक्ष रहेको पनि प्रशिक्षक मोन्टीले बताए। हारको संघारमा पुगिसकेको अवस्थामा समर्थकको साथप्रति पनि उनको प्रंशसा गरे।
नेपालका कप्तान रोहित पौडेलले फाइनलको नतिजा आफ्नो पक्षमा नआए पनि यो प्रतियोगिताबाट धेरै सकरात्मक नतिजाहरू प्राप्त भएको उल्लेख गरे।



