काठमाडौँ – राष्ट्रिय दूग्ध विकास बोर्डले शनिबार वृद्धि गरेको दूधको मूल्य कार्यान्वयन नगर्न निर्देशन दिएको छ। आइतबार बोर्डले सम्बद्ध पक्षसँग छलफल गरेर वृद्धि गरिएको दूधको मूल्य लागू नगर्न भनेको हो।
लागत मूल्य बढेको भन्दै दुग्ध व्यवसायीहरुले प्रतिलिटर १४ रुपैयाँसम्म वृद्धि गरेका थिए।
बोर्डले दूध उत्पादन लागत मूल्य, बजार मूल्यको वृद्धि तथा उपभोक्ता क्रयशक्ति समेतका आधारमा नयाँ मूल्य कायम गर्ने जनाएको छ।
निर्देशक यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘केही दुग्ध उद्योगहरुले मिति २०७२।०९।१६ गतेदेखि लागु हुने गरी दूधको मूल्य (खरीद र विक्री) वृद्धि गरेको सम्बन्धमा मिति २०७२।०९।१७ गते श्रीमान् सचिव (कृ. तथा प. वि. मन्त्रालय एवं उपाध्यक्ष रा. दु.वि. बोर्ड) ज्यूको उपस्थितिमा सरोकारवाला निकायहरुवीच बसेको बैठकको निर्णयअनुसार हाल वृद्धि गरिएको दूधको मूल्य स्थगन गरी दूधको उत्पादन लागत मूल्य, बजार मूल्यको वृद्धि तथा उपभोक्ता क्रयशक्तिसमेतको वैज्ञानिक तबरबाट यथाशिघ्र अध्ययन गरी मूल्य समायोजन गर्न सहमति भएकोले सोही बमोजिम गर्न/गराउन हुन सम्बन्धित सबैमा अनुरोध छ।’



