मङ्ल, जेष्ठ १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

इजरायलमा हमासको आक्रमण : ९ नेपाली विद्यार्थी घाइते, बंकरभित्रैबाट जीवनको याचना

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
इजरायलमा हमासको आक्रमण : ९ नेपाली विद्यार्थी घाइते, बंकरभित्रैबाट जीवनको याचना
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

होम कार्की, उपेन्द्रराज पाण्डेय

काठमाडौं । इजरायलको भीमतहिममा रहेका बर्दियाका लुइस रिजाल शनिबार बिहान ५ः३० बजेको विस्फोटले एक्कासि ब्युँझिए । प्यालेस्टिनी विद्रोही समूह हमासले प्रहार गरेको रकेटलाई इजरायली सेनाले निस्तेज पारेको ठानेर उनी भिडियो खिच्न कोठाबाट निस्किए, जतिबेला आकाशमा धेरै रकेट आइरहेका थिए । भिडियो खिचेर भित्र मात्रै छिरेका थिए, करिब २० किलोमिटर टाढा रहेको सेदोत नेगेभको किवुज अलुमिन (आवास क्षेत्र) का साथीहरूले रुँदै फोन गरे– ‘हामीलाई रकेटको छर्राले लाग्यो । चाँडै एम्बुलेन्स पठाइदिनुपर्‍यो ।’

प्यालेस्टिनी विद्रोही समूह हमासले गाजा क्षेत्रबाट इजरायलमा गरेको रकेट आक्रमण । विद्रोहीले शनिबार रातिसम्म दर्जनौं स्थानमा ५ हजारभन्दा बढी रकेट हमला गरेको दाबी गरेका छन् । तस्बिर : एएफपी

रिजालसहित ४९ नेपाली विद्यार्थी इजरायलको द्वन्द्व प्रभावित क्षेत्र सेदोत नेगेभ क्षेत्रमा छन् । गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न प्रोग्राम’ का लागि पुगेकामध्ये ११ जना छात्रा छन् । उनीहरू सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका आठौं सेमेस्टरका विद्यार्थी हुन् । किवुज अलुमिनमा रहेका १४ जनामध्ये ९ जना घाइते छन्, जसमा दुई जनाको अवस्था गम्भीर छ । यो क्षेत्र द्वन्द्वग्रस्त हमास नियन्त्रित गाजा क्षेत्रबाट नजिकै पर्छ ।

अलुमिनमा रहेका घाइते साथीहरूले फोन गरेपछि आफूले एम्बुलेन्सलाई खबर गरेको रिजालले बताए । ‘एम्बुलेन्स घटनास्थलतिर त पुग्यो तर घाइतेहरूसँग सम्पर्क स्थापित नभएपछि फिर्ता गयो । साथीहरू त्यहीँ नै रहे,’ उनले भने, ‘कसैको छातीमा त कसैको खुट्टामा चोट लागेको छ ।’ रिजालको समूहमा ११ जना छन्, जो यतिबेला बंकरभित्र बसिरहेका छन् । शनिबार बिहान ७ः३० बजे बंकरभित्र छिरेका उनीहरू राति अबेरसम्म बंकरमै थिए । रातिसम्म पनि घाइतेलाई अस्पताल लगिएको छैन । ‘घाइतेमध्ये चार जना साथीहरू बंकरमा छन्, अरू सम्पर्कमा छैनन् । रगत बगेर मरिने भयो भन्दै रोइरहेका छन्,’ रिजालले कान्तिपुरसँग भने, ‘घाइते भएको नै १० घण्टा भइसक्यो, अस्पताल पुर्‍याउन सकिएको छैन ।’

सेदोत नेगेभ कृषि तालिम केन्द्रमा अध्ययन गर्न पुगेका ४९ जना विद्यार्थी ६ वटा समूहमा अलग–अलग कृषि फार्ममा कार्यरत छन् । तीमध्ये ३५ जना एकआपसमा सम्पर्कमा छन् । ‘जमिनमाथि हमासका विद्रोहीहरू हिँडिरहेको आवाज आइरहेको छ, रकेटको वर्षा भइरहेको छ,’ रिजालले भने, ‘बंकरमा लुकेर बसेका छौं । खाना पाइएको छैन । बाहिर सुन्लान् भनेर हामी सासले बोल्ने गरेका छौं ।’ उनीहरूसँगै रहेकी एक छात्राले आफूहरू डरैडरमा बाँचिरहेको बताइन् । ‘इजरायली सरकारबाट उद्धारको प्रतीक्षामा छौं । माथि विद्रोहीहरू घुमिरहेको आवाज आएको आयै छ,’ उनले भनिन्, ‘बम आउँछ तर त्यो निस्तेज हुन्छ भन्ने थाहा थियो, यसरी विद्रोहीहरू नै घुसेर आइपुग्छन् भन्ने अन्दाज नै थिएन ।’ बिहानदेखि केही खाना नपाएको उनले बताइन् ।

तेलअभिभस्थित नेपाली दूतावासले संकटमा फसेका नेपालीको विवरण संकलन भइरहेको जनाएको छ । इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले ९ जना कृषि विद्यार्थी घाइते भएको बताइन् । ‘९ मध्ये दुई जनाको अवस्था गम्भीर छ, उनीहरू बंकरमै छन् । विद्यार्थी रहेको क्षेत्र विद्रोहीको नियन्त्रणमा रहेकाले उद्धारमा कठिनाइ भइरहेको छ,’ उनले कान्तिपुरसँग भनिन्, ‘घाइते भएकाहरूको आइतबारसम्ममा उद्धार हुन्छ भन्नेमा आशावादी छु ।’ गाउँ–गाउँमा छिरेका प्यालेस्टिनी लडाकुलाई नियन्त्रण गर्न इजरायलले सेना परिचालन गरेको उनले बताइन् । ‘घाइते नेपालीको अवस्थाबारे इजरायली परराष्ट्र मन्त्रालय र उद्धार टोलीलाई खबर गरिसकेका छौं । नियमित सम्पर्क रहेको घाइते विद्यार्थीसँग बेलुकाबाट सम्पर्क भएको छैन, मोबाइलको चार्ज सकिएको हुनुपर्छ’, हर्जेलियामा रहेकी राजदूत रिजालले भनिन् ।

इजरायलमा २ सय ५० कृषि विद्यार्थीसहित ४ हजार ५ सय जना नेपाली कार्यरत छन् । कान्तिपुरको सम्पर्कमा आएका एक विद्यार्थीले आफू आक्रमणमा घाइते भएको र उपचारको पर्खाइमा रहेको बताए ।

गैरआवासीय नेपाली संघ इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले समस्यामा परेका नेपालीलाई दूतावास र संघको सम्पर्कमा आउन आग्रह गरिएको बताएका छन् । संघले शनिबार सूचनामार्फत इजरायली सरकारले जारी गरेको सुरक्षा सतर्कता अपनाउन अपिल गरेको छ । ‘इजरायलमा प्रत्येक घरमा बंकर छ । नेपालीहरू बंकरमा नै छौं,’ १७ वर्षदेखि जेरुसेलममा कार्यरत प्यूठानका भण्डारीले भने, ‘अहिलेको समय पहिलाजस्तो सहज छैन । सबै सुरक्षित भएर बस्न जरुरी छ ।’

शनिबार बिहानैदेखि प्यालेस्टिनी विद्रोही समूह हमासले गाजाबाट इजरायली भूमिमा रकेट आक्रमण गरेपछि इजरायली सेनाले जवाफी आक्रमण सुरु गरेको हो । इजरायली स्वास्थ्य मन्त्रालयले ‘प्यालेस्टिनी आक्रमण’ मा अहिलेसम्म सय जना मारिएको र एक हजारभन्दा बढी घाइते भएको जनाएको छ । टाइम्स अफ इजरायलले रेडियो आर्मी रेडियोलाई उद्धृत गर्दै ९ जना हमास विद्रोही मारिएको जनाएको छ । हमास विद्रोहीले बन्धक बनाएका केही व्यक्तिलाई प्यालेस्टाइनतर्फ लगेको पनि इजरायली सञ्चारमाध्यमले जनाएका छन् । रोयटर्सका अनुसार इजरायलको जवाफी आक्रमणमा गाजा क्षेत्रमा डेढ सयभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ ।

हमासका हतियारधारी व्यक्ति दक्षिणी इजरायलमा अचानक प्रवेश गरेर आक्रमण गरेको इजरायलको भनाइ छ । हमास विद्रोहीहरू मोटरसाइकल र प्यारासुटमार्फत इजरायली भूमिका प्रवेश गरेका थिए । हमास नेता मोहम्मद डेफले शनिबार बिहान इजरायलतर्फ करिब ५ हजार रकेट आक्रमण गरेको बताएका छन् । डेफलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ, ‘अति भनेको अति नै हुन्छ भनेर हामीले आक्रमण सुरु गरेका हौँ ।’ इजरायलविरुद्ध ‘अपरेसन अल–अक्सा फ्लड’ सुरु भएको हमासको दाबी छ ।

हमासको आक्रमणपछि इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले कडा प्रतिक्रिया दिँदै भनेका छन्, ‘इजरायली जनसमुदाय, हामी युद्धमा छौँ, अपरेसनमा होइन ।’ हमासले आश्चर्यजनक रूपमा इजरायली नागरिक र राज्यविरुद्ध आक्रमण गरेको नेतान्याहुले बताए । ‘हाम्रा दुस्मनले उनीहरूले अहिलेसम्म थाहै नपाएको मूल्य चुकाउनुपर्नेछ । म इजरायली सेना र होम कमान्डको निर्देशनलाई अनिवार्य रूपमा पालना गर्न निर्देशन दिन्छु । हामी युद्धमा छौँ र हामीले नै जित्नेछौँ,’ उनले भने । उनले शनिबार दिउँसो सेक्युरिटी क्याबिनेटको बैठक बोलाएका थिए । बैठकमा उनले हमासविरुद्धको युद्ध जित्न सबै इजरायली एकताबद्ध हुनुपर्ने बताएका छन् । त्यस्तै, प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासले आफ्ना नागरिकलाई प्रतिरक्षाको अधिकार भएको बताएका छन् । रोयटर्सका अनुसार राष्ट्रपति अब्बासले ‘अतिक्रमणकारी सेना’ बाट आफूलाई रक्षा गर्ने अधिकार प्यालेस्टिनी नागरिकलाई भएको प्रतिक्रिया दिएका छन् । इजरायली डिफेन्स फोर्सले पनि हमासविरुद्ध ‘अपरेसन सोर्ड्स अफ आइरन’ घोषणा गरेको छ । हमासले आक्रमण गरेसँगै जेरुसेलम क्षेत्रमा साइरन बजाइएको थियो ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायलमाथि हमासको आक्रमणको निन्दा गरेका छन् । हमासद्वारा ठूलो संख्यामा इजरायलीमाथि अपहरण र आक्रमण भएको घटनाले आफू स्तब्ध भएको गुटेरेसले जनाएका छन् । अपहरण गरिएका सबैलाई तत्काल रिहा गर्न पनि उनले सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई चाहिने सबै उपयुक्त सहयोग गर्न आफूहरू तयार रहेको बताएका छन् । इजरायली प्रधानमन्त्री नेतान्याहुलाई टेलिफोन गर्दै उनले इजरायली सरकार र जनतालाई सहयोग गर्न अमेरिका तयार रहेको बताएको टाइम्स अफ इजरायलले जनाएको छ । ‘आतंकवाद कहिल्यै पनि स्वीकार्य छैन । इजरायललाई आफू र आफ्ना नागरिकको रक्षा गर्ने अधिकार छ । अमेरिका यस अवस्थामा फाइदा उठाउन खोज्ने इजरायलविरोधी समूहलाई चेतावनी दिन्छ,’ नेतान्याहुसँगको कुराकानीमा बाइडेनले भनेका छन् ।

सन् १९६७ को मध्यपूर्वको युद्धपछि इजरायलले पूर्वी जेरुसेलममाथि कब्जा गरेको थियो । त्यसपछि उसले पूरा जेरुसेलमलाई आफ्नो राजधानी दाबी गर्दै आएको छ । प्यालेस्टाइनले भने पूर्वी जेरुसेलमलाई ‘भविष्यको एक सार्वभौम र स्वतन्त्र मुलुकको राजधानी’ का रूपमा लिँदै आएको छ । यही विषयमा प्यालेस्टाइन र इजरायलबीच विवाद रहँदै आएको छ भने पटक–पटक यसले युद्धको रूप लिएको छ । सन् २०१४ को जुलाईदेखि अगस्टको बीचमा भएको द्वन्द्वमा २ हजार २५१ प्यालेस्टाइनी मारिएका थिए । तीमध्ये १ हजार ४ सय ६२ त सर्वसाधारण नै थिए । त्यस्तै इजरायलका ६ सर्वसाधारणसहित ६७ जना सैनिक मारिएका थिए ।

पछिल्लो पटक २०२२ अगस्टमा इजरायली सेनाले प्यालेस्टिनी विद्रोही अखडामा हवाई आक्रमणमा गर्दा ४४ जनाको मृत्यु भएको थियो । प्यालेस्टिनी विद्रोही समूहले १ हजारभन्दा बढी रकेट आक्रमण गरेपछि इजरायलले जवाफी कारबाही गरेको दाबी गरेको थियो । त्यसअघि सन् २०२१ मा रमदानकै महिना इजरायल–प्यालेस्टाइन द्वन्द्व चर्किएको थियो । ११ दिनसम्म लम्बिएको हिंसात्मक द्वन्द्वमा गाजा क्षेत्रका २ सय ५० जना र इजरायलका १३ जना मारिएका थिए । इजिप्टबाट कब्जामा लिएको ३८ वर्षपछि इजरायली सेना गाजाबाट एकतर्फी हटेको थियो । त्यस क्षेत्रलाई उसले प्यालेस्टाइनलाई छाडिदिएको थियो । त्यसयता कैयौँ पटक इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व चर्किंदै आएको छ ।

यो पनि पढ्नुहोस्

सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्से परिसुचक घट्याे

१ घण्टा अगाडि
सर्वोच्च शिखर सगरमाथाको आरोहण

सर्वोच्च शिखर सगरमाथाको आरोहण

२ घण्टा अगाडि

नेपालद्वारा कडा निन्दा

इजरायलमाथि आतंकवादी आक्रमण भएको भन्दै नेपालले ‘कडा निन्दा’ गरेको छ । शनिबार साँझ परराष्ट्र मन्त्रालयले प्रेस वक्तव्य जारी गर्दै इजरायली भूमिमा आतंकवादी आक्रमणको आलोचना गरेको हो । आक्रमणमा केही व्यक्ति हताहती भएको र केही घाइते भएको अवस्थामा नेपाल सरकार इजरायलको साथमा रहेको पनि वक्तव्यमा जनाइएको छ ।

वक्तव्यमा भनिएको छ, ‘नेपाल सरकार आज इजरायलमा भएको आतंकवादी आक्रमणको कडा निन्दा गर्दछ, जसमा केही मानिसले आफ्नो अमूल्य जीवन गुमाएका छन् भने केही घाइते भएका छन् । यो महत्त्वपूर्ण समयमा हामी इजरायल सरकारसँगै रहेका छौँ ।’ मन्त्रालयले १४ जना नेपाली काम गर्ने इजरायली कृषि फार्ममा आक्रमण भएको खबर आएको बताएको छ । त्यसमध्ये ९ जना घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको पनि जनाएको छ ।

इजरायलमा रहेको नेपाली दूतावास आक्रमण भएको क्षेत्रमा रहेका नेपालीसँग निरन्तर सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । दूतावासले नेपाली कामदारको सुरक्षा र उद्धारका लागि इजरायली निकायसँग सहकार्य गरिरहेको पनि जनाएको छ । त्यस्तै, पछिल्लो अवस्थालाई मध्यनजर गर्दै सतर्क रहन मन्त्रालयले आग्रह गरेको छ । केही परे इजरायलका लागि नेपाली राजदूत कान्ता रिजाल र प्रथम सचिव अर्जॅन घिमिरेलाई सम्पर्क गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मेडिकल व्यवसायी दुर्गा प्रसाई रिहा

३० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य पूरा हुन कठिन

संविधान संशोधन प्रक्रियामा प्रदेश संरचनाको पुनरावलोकन माग

प्रतिनिधि सभा बैठक अवरोध

साफ महिला च्याम्पियनसिपको लागि पूर्ण समर्थन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक