दोस्रो हाफमा ३ गोल गरेपछि साविक च्याम्पियन म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लगातार पाँचै जित निकाल्दै आफ्नो रवाफिलो यात्रा जारी राखेको छ। शनिबार राति भएको खेलमा वेस्टह्यमसँग पहिलो हाफमा १-० ले पछि परेको अवस्था उल्टाउँदै सिटीले ३-१ को सहज जित हासिल गर्दै जारी सिजनपनि आफ्नो उतकृष्ट लयलाई कायम राख्यो।
सिटीको जितमा जेर्मी डोकु, बर्नान्डो सिल्भा र अर्लिङ हालान्डले समान १-१ गोल गरेका थिए। खेलमा जेम्स वार्ड प्राउजले डाइभिङ हेड गर्दै वेस्टह्यामलाई ३६ औं मिनेटमा अग्रता दिलाएका थिए। तर दोस्रो हाफको सुरुवातमानै अलभारेजको पासलाई सदुपयोग गर्दै डोकुले सिटीलाइ बराबरीमा ल्याए। बर्नान्डो सिल्भाले अल्भारेजकै पासलाई ७६औं मिनेटमा सदुपयोग गर्दा सिटीले अग्रता बनाएको थियो। लगातार उत्कृष्ट प्रहार गोलमा परिणत नभइरहँदा अन्तत हालान्डले ८६ औं मिनेटमा सिटीको अग्रता ३-१ मा पुर्याए। उनले सिल्भाको पासलाई सदुपयोग गर्दै सिजनमा सातौं गोल सम्भव बनाए।
त्यस्तै अर्को खेलमा म्यानचेस्टर युनाइटेड भने घरेलु मैदान वल्ड ट्राफोर्डमै ब्राइटनसँग ३-१ ले स्तब्ध बन्यो। यो युनाइटेडको जारी सिजनको तेस्रो हार हो। पुर्व यूनाइटेड स्ट्राइकर डेनी वेलबेकले ब्राइटनलाई २० औं मिनेटमा अग्रता दिलाए। पहिलो हाफमा एक गोलको अग्रता बनाएको ब्राइटनले दोस्रो हाफमा थप दुई गोल गर्यो। पासकल ग्रोब्सले दोस्रो हाफमा ब्राइटनलाई २-० को अवस्थामा पुर्याए। तेस्रो गोल जोएओ पेड्रोको नाममा रह्यो। उनले ७१ औं मिनेटमा तेस्रो गोल गर्दा युनाइटेड स्तब्ध बनेको थियो। तर ७३ औं मिनेटमा हनीबल मेजब्रीले गोल गरेपनि युनाइटेडलाई हार टार्न पर्याप्त भएन।
जारी सिजन युनाइटेड अङ्क तालिकाको पाँच खेलबाट ६ अङ्क जोडेर १२ औं स्थानमा रहेको छ। ब्राइटन भने १२ अङ्कका साथ तेस्रो स्थानमा उक्लिएको छ।
शनिबारनै भएको अर्को खेलमा टोटेनह्यामले सेफिल्ड युनाइटेड माथि नाटकिय जित हासिल गर्यो। अधिकासं समय गोलरहित बराबरी भएको खेलमा सेफिल्डले ७३ औं मिनेटमा गुस्ताभो हमिरको गोलमार्फत अग्रता लियो। १२ मिनेट थप गरिएको इन्जुरी समयको आठौं मिनेटमा ब्राजिलियन स्टार रिचार्डलिसनले टोटेनह्यामलाई बराबरीमा ल्याए। दुई मिनेट पछि देजन कुलुसेवस्कीले गोल गरेपछि टोटेनह्यामले सम्भावित हार टार्दै महत्वपूरण तीन अङ्क समेत जोड्न सफल भयो। जितसँगै टोटेनह्याम पाँच खेलबाट १० अङ्कका साथ चौंथो स्थानमा रहेको छ। पराजित सेफिल्ड भने १४ औं स्थानमा छ।
त्यस्तै अन्य खेलमा फूलह्यामले लुटनलाई १-० ले पराजित गर्दा एस्टन भिल्लाले क्रिश्टल प्यालेसलाई ३-१ ले पराजित गर्यो।