काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एमाले पार्टीभित्र विस्फोट हुने जनाएका छन्। नेपाल आदिवासी जनजाति महासंघ(समाजवादी)को काठमाडौं जिल्ला भेलालाई बुधवार सम्बोधन गर्दै सम्मानित नेता खनालले प्रमुख प्रतिपक्ष पार्टी नेकपा(एमाले)भित्र बिस्फोट र विद्रोह हुने जनाए।
उनले एमालेभित्र देशव्यापी रुपमा पहिरो जाने जनाए । उनले एमालेको दक्षिणपन्थी कार्यदिशाका कारण पार्टीभित्रैबाट विद्रोह हुने उल्लेख गरे।
उनले जनताको बहुदलीय जनवादबाट समाजवाद आउँदैन भन्ने कुरा एमालेले बुझ्नुपर्ने बताए। उनले एमाले आफ्ना नीतिमा परिवर्तन गर्न बाध्य हुने पनि जनाए। उनले एमालेको गलत कार्यदिशाका कारण आफूहरूले सो पार्टीबाट विद्रोह गरेको भन्दै आफूहरूले सही विचार र कार्यदिशा लिनुपर्ने जनाए।
उनले एमाले राप्रपा, लोसपा र कांग्रेस जोसँग पनि गठबन्धन गर्न तयार भएको भन्दै ऊसँग कुनै सिद्धान्त र दृष्टिकोण नभएको बताए। उनले एमाले भयानक अलमलमा रहेको टिप्पणी गरे।
सम्मानित नेता खनालले एमसिसी पारित भएसँगै प्रत्येक महिना अमेरिकी नेता नेपाल आइरहेको भन्दै यसप्रति आशंका व्यक्त गरे। उनीहरू नेपाल आएर सबभन्दा पहिले तिब्बती शरणार्थीलाई भेटिरहेका उनले बताए। उनले अमेरिकीको नेपालप्रतिको चासोलाई मित्रराष्ट्र चीनसँग जोडेर पनि हेर्नुपर्ने जनाए ।
उनले एउटा छिमेकी राष्ट्र नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्छ भनेर लागेको र पश्चिमी राष्ट्रहरू नेपालमा क्रिश्चियन धर्म प्रचारमा लागेको भन्दै यसतर्फ नेपाली सचेत हुनुपर्ने बताए। सम्मानित नेता खनालले आफूहरू आगामी चुनावमा कुनै पार्टीसँग गठबन्धन नगरी एक्लै लड्ने जनाए ।


