काठमाडौं / एसियाकप क्रिकेटमा भारतले नेपाल विरुद्ध नयाँ लक्ष्य पाएको छ। समूह ‘ए’ को अन्तिम खेलमा नेपालले दिएको २ सय ३१ रनको लक्ष्य पछ्याएको भारतले १७ रन बनाउँदा वर्षाले लामो समय खेल रोकिएपछि। पुन सुरु हुन लागेको खेलमा नेपाल विरुद्ध भारतले २३ ओभरमा १ सय ४५ रनको नयाँ लक्ष्य पाएको हो।
वर्षाका कारण २.१ ओभरमा खेल रोकिंदा भारतले १७ रन बनाएको छ। उसका ओपनरहरु रोहित शर्मा ७ बल खेल्दै ४ रन र शुभमन गिल ६ बल खेल्दै १२ रन बनाएर क्रिजमा छन्।
अब ओभर घटेसँगै पाँच ओभरको पावर प्ले हुने छ। पहिलो पावर प्ले १ देखी ५ ओभर, दोस्रो ६ देखी १९ र तेस्रो २० देखी २३ ओभर सम्मको हुने छ। बलिङ तर्फ नेपालका ३ बलरले पाँच ओभर गर्न सक्ने छन् भने २ बलरले ४ ओभर गर्न सक्ने छन्।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा २ सय ३० रन बनाउँदा अलआउट भएको थियो। भारत विरुद्ध समानजनक स्कोर तयार गर्ने क्रममा नेपालका लागि आसिफ शेखले सर्वाधिक ५८ रन बनाउँदा सोमपाल कामीले ४८ रन तथा कुशल भुर्तेलले ३८ रन बनाए। त्यस्तै गुल्सन झाले २३ रन बनाए भने दिपेन्द्र सिहं ऐरीले २९ रनको स्कोर तयार गरेका थिए।
भारतका लागि मोहम्मद सिराज र रविन्द्र जडेजाले समान ३-३ विकेट लिएका थिए। त्यस्तै मोहम्मद सामी, हार्दीक पाण्ड्या र सार्दुल ठाकुरले समान १-१ विकेट लिए।