काठमाडौं । अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले ‘९६औँ अस्कर अवार्ड प्रतियोगिता’मा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा सहभागी गराउन सूचना आह्वान गरेको छ।
समितिले प्रेस विज्ञप्ति जारी गर्दै नेपाली चलचित्रलाई उक्त पुरस्कारको प्रतियोगितामा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा सहभागी गराउन आवेदन माग गरेको हो। विज्ञप्तिमा एकेडेमीद्वारा तोकिएका सबै मापदण्ड पुग्ने एउटा उत्कृष्ट चलचित्र छनोट गरी सो प्रतियोगितामा प्रतिस्पर्धी चलचित्रका रूपमा सिफारिस गरी जानकारी गराउन उक्त संस्थाबाट अनुरोध भएकाले ९६औँ अस्कर अवार्ड प्रतियोगितामा सामेल हुन चाहने सबै नेपाली चलचित्र निर्देशक र निर्माताहरूलाई आफ्नो चलचित्र २०२३ सेप्टेम्बर १५ तारिख अर्थात् मिति २०८० भदौ २९ गते शुक्रबार दिनको ५ बजेभित्र समितिको सचिवालयमा सम्पर्क गरी दर्ता गराउन आह्वान गरिएको छ।
सो प्रतिस्पर्धामा भाग लिन चाहेको चलचित्र सन् २०२२ डिसेम्बर १ तारिख अर्थात् वि.सं. २०७९ असोज १५ गतेभन्दापछि तथा सन् २०८० सेप्टेम्बर ३० तारिख अर्थात् वि.सं. २०८० साल असोज १४ गतेभन्दा पहिला नै सार्वजनिक प्रदर्शन गरिएका चलचित्रले मात्र आवेदन दिन सकने बताइएको छ। द एकेडेमी अफ मोशन पिक्चर आर्टस् एण्ड साइन्सेसले सन् २०२४ मार्च १० तारिख आइतबार अमेरिकाको लस एन्जेलसको डल्बी थिएटरमा ९६औँ एकेडेमी अवार्डस् (द अस्कर अवार्डस्) प्रदान गर्नेछ। उक्त पुरस्कारको प्रतियोगितामा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा सहभागी गराउन चलचित्र निर्देशक राजु के.सी.को नेतृत्वमा अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) गठन भएको छ। यो स्वतन्त्र समिति हो।