काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि परराष्ट्र नीति सञ्चालनबारे गम्भीर प्रश्नहरु उठेको टिप्पणी गरेका छन्।
सोमबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले परराष्ट्र नीतिहरु र व्यवहारबारे सरकारको गतिविधिबारे गम्भीर प्रश्नहरु उठेको बताएका हुन्।
उनले भने, ‘सरकारको परराष्ट्र नीतिहरु र व्यवहारको तालमेल नभएको र अस्पष्टताहरुबारे बजारमा गम्भीर प्रश्नहरु उठेका छन्। संसद्मा गम्भीर प्रश्नहरु उठेका छन्। र, यस समितिले कमसेकम ती प्रश्नहरुको यथोचित समाधान सविस्तार छलफल गरेर मार्गदर्शन गर्नुपर्छ।’
अध्यक्ष ओलीले परराष्ट्र नीतिको मामिलामा सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने अवस्था आएको पनि बताए। मुलुकको गुमेको भूमि फिर्ता लिन र पारस्पारिक लाभ र सम्मानको आधारमा परराष्ट्र नीति सञ्चालन गर्न सरकार, नागरिक समाज र सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने उनको भनाइ थियो।
अध्यक्ष ओलीले परराष्ट्र नीतिमा एकरुपता ल्याउन र मुलुकको हित हुनेगरी त्यसको परिचालन गर्न संसदीय समितिले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए।