काठमाडौँ – राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले औपचारिक रुपमा बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन्। बागमतीका चार जिल्ला अध्यक्ष अर्थात बहुमत प्राप्त गर्ने आधारसहित अध्यक्षको उम्मेद्वारी घोषणा गरेका हुन्।
बागमती प्रादेशिक क्रिकेट संघको निर्वाचन अर्को साता हुँदैछ। शुक्रबार काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै पारसले उम्मेद्वारी घोषणा गरेका हुन्। बागमती प्रदेश क्रिकेट संघको चुनाव आगामी १५ भदौमा हुँदैछ।
बागमती प्रदेशका सदस्यता मान्यताप्राप्त जिल्ला काठमाडौँ, भक्तपुर, ललितपुर र मकवानपुरले शुक्रबार संयुक्त रुपमा पत्रकार सम्मेलन गरेका थिए। बागमतीका बाँकी दुई जिल्ला नुवाकोट र चितवन भने पत्रकार सम्मेलनमा सहभागी थिएनन्।
पत्रकार सम्मेलनमा पारससँगै मकवानपुर जिल्लाका अध्यक्ष करण महत्रा क्षेत्री, काठमाडौँका अध्यक्ष दिवाकर घले, भक्तपुरका अध्यक्ष मनिषराज पाण्डे र ललितपुरका अध्यक्ष शेखर श्रेष्ठ सहभागी थिए।
पारस अध्यक्षमा उठ्दा उपाध्यक्षमा मकवानपुर, सचिव ललितपुर र कोषाध्यक्षमा भक्तपुरका प्रतिनिधि उठ्ने घोषणा गरेका छन्। ९ सदस्यमा आपसी समझदारी हुने जानकारी उनीहरुले दिए।
बागमती प्रदेशका अध्यक्ष राजु बस्नेत, उपाध्यक्ष प्रेम क्षेत्री र कोषाध्यक्ष अनिल अधिकारीसहित ७ सदस्यले पारसलाई अध्यक्षको लागि साथ दिने भएका हुन्।
बागमती प्रदेशमा ६ जिल्लाका २४ र बागमती वर्तमान कार्यसमितिका १३ गरी कुल ३७ भोट हुनेछ। हरेक जिल्लाबाट चार प्रतिनिधिले प्रदेशमा मतदान गर्न पाउने छन्। प्रतिबद्धताअनुसार पारसले ३७ मध्ये २३ मत प्राप्त गर्ने समीकरण बनेको छ।
पारसले पहिलो पटक चुनावी अभियानको अनुभव सम्हालेको भन्दै यसले अघि बढ्न सहज भएको बताए। उनले भने, ‘पहिलो पटक चुनावमा होमिँदा आलोचना, सहयोग र विश्वासलगायत धेरै कुरा सिक्ने अवसर मिल्यो। हामीले काठमाडौँमा सर्वसम्मत हुने वातावरण बनायौँ। अब प्रदेशमा पनि सोहीअनुसारको तयारी गरीरहेका छौँ। साथीहरुको सहयोगमा औपचारिक रुपमा बागमती प्रदेशको अध्यक्ष उठ्ने निर्णय गरेको छु।’