सिन्धुपाल्चोक / चार दिनदेखिको अविरल वर्षाका कारण बाढीपहिरोले पश्चिम हेलम्बु, मेलम्ची र पाँचपोखरी थाङपाल क्षेत्रका तटीय भेगमा क्षति पुर्याएपछि यहाँका स्थानीयहरू त्रसित बनेका छन् ।
बिहीबार बेलुकादेखि नै एकाएक मेलम्चीको सतह बढ्न थालेपछि उनीहरू चिन्तित बनेका हुन् । शुक्रबार हेलम्बु गाउँपालिका वडा ४ ग्याल्थुमस्थित सरस्वती माध्यमिक विद्यालयका चारवटा पक्की शौचालय र एक भान्साघर बगाएको छ । विद्यालयसहित यहाँका ग्याल्थुम बजार क्षेत्रका ६ वटा घर उच्च जोखिममा परेपछि सुरक्षित स्थानमा सारिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
‘विद्यालयको अन्य संरचना जोखिममा परेपछि यहाँ लगभग पठपाठन ठप्प भएको अवस्था छ, स्थानीयमा त्रास कायम छ, अब बाढीले के हुने हो भन्ने डरले हामी आत्तिएका छौं,’ प्रत्यक्षदर्शी स्थानीय रामहरी लामिछानेले भने । नदीको तटीय क्षेत्रको मुख्य सडकमा दर्जनौं स्थान बाढीपहिरोले तहसनहस बनाएपछि हेलम्बु र पाँचपोखरी थाङपाल जोड्ने सडक आहिले ठप्प छ । बाढीले हेलम्बुको किउल, चनौटे, ग्याल्थुम, मेलम्चीको तालामाराङ र पाँचपोखरी थाङपाल गाउँपालिकाको यांग्री , तिपेनी बजार प्रभावित भएका छन् ।
हेलम्बु जोड्ने ग्याल्थुम, चनौटे, तालामाराङ, सिमखेतजस्ता सडक खण्डमा बाढीले ५० मिटर कटान गरी खोलामा खसालेपछि गाउँदेखि बजार जोड्ने यहाँका सडक अवरुद्ध छन् । हेलम्बु गापाका अध्यक्ष निमाग्याल्जेन शेर्पाका अनुसार मेलम्चीको बाढीले दुई वर्षअघि कटान गरेर बाँकी राखेको किनारका खेत, बस्ती र मानवनिर्मित संरचना एक सातायताको बाढीले बगाइरहेको देखिन्छ । मेलम्ची घ्याङदेखि ग्याल्थुमसम्मका बाँकी रहेका ५० खण्डहर घर बगाएको उनले बताए । ‘आहिले अवस्था धेरै जोखिमपूर्ण बनेको छ, दुई वर्षपछि बल्ल तंग्रिदै गरेको हेलम्बु बाढीले पुन पहिलेकै अवस्थामा धकेल्ने खतरा छ,’ उनले भने ।
डेढ वर्ष लगाएर २० करोडमा बनेका नदी नियन्त्रणका तारजाली, पक्की वाल र तटक्षेत्रमा लगाएका ढलान अहिले बाढीले बगाएको छ । एक सातायता बाढीले सडक र गोरेटो बगाएपछि मेलम्ची घ्याङ, तार्केघ्याङ, सेर्माथाङ, तिम्बु र नाकोतेका स्थानीय गाउँमै रोकिएका छन् । हेलम्बु र पाँचपोखरी थाङपाल जाने सडक बाढीपहिरोले बन्द भएपछि दुई पालिकाको केन्द्रबाट घर फर्कँदा मेलम्चीमै बास बस्नुपर्ने बाध्यता रहेको स्थानीय सानबहादुर तामाङले दुखेसो गरे ।
‘बर्खा लागेपछि यही पिर हुन्छ, बाटो थुनिएपछि मेलम्ची बजार बस्नुबाहेक विकल्प छैन, तर बाढीको जोखिम यहाँ पनि उस्तै छ,’ उनले भने । त्यसैगरी मेलम्ची नगर ११ कटुन्जे, बाह्रबिसे नगर वडा २ चालिसे, टाडबिसौना, कर्थलीजस्ता दर्जनौं गाउँमा तल्लो भाग भास्सिएर गएपछि बस्ती जोखिममा परेका छन् । विस्थापित परिवारलाई आपतकालीन आश्रयस्थल र सुरक्षित स्थानमा टेन्टमा सारेर आवश्यक बासगास व्यवस्थापन गरिएको यहाँका जनप्रतिनिधिले बताएका छन् ।
संघ र प्रदेश सरकारप्रति स्थानीय जनप्रतिनिधि रुष्ट
सिंगो जिल्लाको तीन नगर र नौ गाउँपालिकाभर यस्तो विपदमा पनि संघ र प्रदेश सरकारको प्रत्यक्ष उपस्थिति देखिँदैन । दुवै तहका सरकार मूकदर्शक बनेको भन्दै स्थानीय र जनप्रतिनिधिहरू रुष्ट छन् । विशेषगरी हेलम्बु, मेलम्ची नगर र पाँचपोखरी थाङपाल गापाको पछिल्लो विपदमा सहयोगका लागि कुनै सरकारी निकाय नपुग्दा स्थानीयले बेवास्ता गरेको आरोप लगाउँदै आएका छन् ।
यसअघि बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथान पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले मेलम्ची क्षेत्रलाई विपदमा आवश्यक बजेट छुट्याउने प्रतिबद्धता गरेका थिए । तर, न बजेट आइपुगेको छ, न उनी नै फर्किए । बरु उल्टै बाढीले खानेपानी आयोजनाको हेडवर्क्स सबै बगायो । मुहानस्थल पुग्ने सडक बगाए पनि प्रधानमन्त्री संघीय सरकारका कोही पनि प्रतिनिधि हेलम्बु पुगेका छैनन् । पछिल्लो पटक हेलम्बु पुगेका वाग्मती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलाल भने आश्वासन मात्रै दिएर फर्किएको स्थानीयको गुनासो छ ।
कसरी आयो बाढी ?
मेलम्ची बाढीको मुहानस्थल हेलम्बुको शीर भेमाथाङमा यसपटक नयाँ पहिरो गएको छैन । तर मेलम्चीघ्याङ पछाडिको डाँडा पहिरोमा बदलिएपछि यहाँका हृयोल्मो समुदाय झनै त्रसित छन् । माथिल्ला भेगमा नयाँ पहिरो गएकाले बाढी आएको हुनसक्ने हेलम्बु गापाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए ।
‘भेमाथाङ जलाधार क्षेत्रको नियन्त्रण र सुरक्षा नगरी मेलम्ची बाढीबाट तट क्षेत्र जोगिँदैन । पहिरो रोकथाम नियन्त्रण गर्ने भौतिक तैयारीबिना बाढी रोकिँदैन,’ शेर्पाले भने । यस्तै सरकारले भूर्गभविद् पठाएर अध्ययन गरेर चुपचाप बसेको उनले आरोप लगाए ।