काठमाडौँ– भावी सरकार गठन र शक्ति बाँडफाँटबारे गठबन्धनमा रहेका तीन दलका शीर्ष नेताहरुबीच छलफल चलिरहेको छ।
अहिलेकै गठबन्धनलाई निरन्तरता दिएर पहिला कसले सरकारको नेतृत्व गर्ने भन्ने विषयमा विवाद भइरहेका बेला कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच शुक्रबार साँझ बालुवाटारमा छलफल भइरहेको हो।
उक्त छलफलमा प्रचण्डले आगामी संसदको पहिलो दुई वर्ष सरकारको नेतृत्व आफूले गर्न पाउनुपर्ने अडान राखेका थिए भने आफूसमेत आकांक्षी रहेका देउवाले सल्लाह गर्ने वचन दिएका थिए।
बिहीबार साँझदेखि रातिसम्म र शुक्रबार बिहानै देखिको दौडधुपपछि तीन नेता शक्ति बाँडफाँड टुंगाउन छलफलमा बसेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि आइतबार साँझ ५ बजेसम्मको समय दिएकी छिन्।

