काठमाडौं । सोमबार पनि सेयर बजारको वृद्धिले निरन्तरता पाएको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ८.१० अंकले बढेर १८९१ मा कायम भएको हो ।
यसअघि आइतबार ५ अंकले नेप्से बढेको थियो । कुल ७८ कम्पनीको मूल्य घट्दा १३३ को बढ्यो भने १० को स्थिर रहृयो । दिनभर कुल १ अर्ब २७ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भयो । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ ।
अघिल्लो दिन १ अर्ब ६० करोडको कारोबार भएको थियो । बैंकिङ ०.२९ अंक घट्यो भने व्यापार उपसमूह २० अंक घट्यो । विकास बैंक १०, फाइनान्स १३, होटल तथा पर्यटन ५५, जलविद्युत् १४, जीवन बीमा ८८, उत्पादन १०७, माइक्रोफाइनान्स १७, निर्जीवन बीमा ७४ र अन्य उपसमूह ०.५ अंक बढे । आत्मनिर्भर लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो ।
युनिलिभरको ७, गुडविल फाइनान्सको ६ तथा सामुदायिक लघुवित्तको ५ प्रतिशत मूल्य बढ्यो । ग्रिनलाइफ हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ७ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सोल्टी होटल, ओरियन्टल होटल, एनआईसी एसिया बैंक र राष्ट्रिय बीमा कम्पनी क्रमशः अगाडि रहे ।

