२० वर्षदेखि चर्चित रहेको अर्को विपक्षी दल फेउ थाईले भने १४१ सिट जितेको छ । यी दुई दलले मिलेर थाइल्यान्डमा सरकार बनाउने सम्भावना छ । वर्तमान प्रधानमन्त्री प्रयुत चान–ओचा नेतृत्वको सत्तारूढ दल युनाइटेड थाई नेसन पार्टी (यूटीएन) ले यस चुनावमा ३६ सिट मात्र जितेको छ ।
सेनाको हालिमुहाली हुने भएकाले हालै भएको निर्वाचनपछि पनि थाइल्यान्डको नेतृत्व कसले गर्छ भन्ने स्पष्ट हुन सकेको छैन । यसो हुनुको कारण हो, सन् २०१४ मा सेनाको ‘कू’ पछि संविधानको पुनर्लेखन । अन्य दलले लोकप्रिय मत हासिल गरे पनि सरकार गठनमा सेनाले आफ्नो भूमिका निर्णायक हुने गरी संविधानमा परिमार्जन गरेको छ ।
सरकार बनाउनका लागि ३७६ सिटको आवश्यकता पर्छ । तर, यसका लागि विपक्षी दलले ठूलो गठबन्धन बनाउनुपर्नेछ । सरकार बनाउन संसदमा मतदान हुनेछ । थाइल्यान्डमा २५० सिटमा सेनाले चुनेका सांसदको सदन हुनेछ । जसका कारण विपक्षी दललाई बहुमत जुटाई प्रधानमन्त्री चयन गर्न कठिन हुनेछ ।
निर्वाचनबाट तल्लो सदनका ५०० सिटका लागि प्रतिस्पर्धा भएको हो, जसमध्ये ४०० प्रत्यक्ष निर्वाचित हुन् । बाँकी समानुपातिक प्रतिनिधित्व प्रणालीअनुसार बाँडफाँट गरिएको छ । सन् २०१९ को निर्वाचनमा फेउ थाई पार्टी पहिलो बने पनि प्रयुत चान–ओचाको पार्टीको गठबन्धनले संसद्मा सरकार बनाउन आवश्यक मत पाएको थियो ।
सन् १९३२ यता दर्जनौं पटक थाइल्यान्डमा ‘कू’ भएको छ, जसका कारण सांसदलाई प्रतिबन्ध, पार्टी खारेज र निर्वाचित सरकारको बहिर्गमन भएका थिए । निर्वाचन आयोग, भ्रष्टाचार नियन्त्रण आयोग, न्यायालय पनि सत्तानिकट नै भएका थिए । सन् २०२० मा युवाको नेतृत्वमा भएको प्रदर्शनपछिको यो पहिलो निर्वाचन हो भने सन् २०१४ मा भएको सैन्य ‘कू’ ले निर्वाचित सरकारलाई अपदस्थ गरेपछिको यो दोस्रो निर्वाचन हो । फेउ थाई नेता पेटोङ्टार्न सिनावात्राले एमएफपीलाई चुनावी सफलताका लागि बधाई दिँदै सबैभन्दा बढी मत प्राप्त गर्ने पार्टीले अर्को सरकारको नेतृत्व गर्न पाउने बताइन् । ‘हामी मुभ फरवार्ड’ सँग कुरा गर्न तयार छौं,’ उनले भनिन् ।
एमएफपीको नेतृत्व ४२ वर्षीय युवा पिटा लिमजार्याटले गरिरहेका छन् । यो पार्टीले राजधानी बैंककमा ३३ मध्ये ३२ सिट जितेको छ । ‘आज नयाँ दिन हो र यो उज्यालो र आशाले भरिएको छ,’ जितपछि पिटाले भने, ‘यो युगको भावना परिवर्तन भएको छ र यो सही समय पनि हो ।’ सरकार बन्नका लागि अझै केही समय लाग्ने र यसमा सेनाको भूमिका महत्त्वपूर्ण हुने भए पनि यो निर्वाचनले पिटा र उनको पार्टीलाई भने स्थापित गरेको छ ।
उनी सन् २०१९ मा भएको निर्वाचनमा फ्युचर फरवार्ड पार्टीबाट सांसद निर्वाचित भएका थिए । यो पार्टी ट्यानाटोर्न जुङरुङकिटले गरेका थिए । उक्त चुनावमा यो पार्टी तेस्रो भएको थियो । तर, विभिन्न विवादका कारण उक्त पार्टी भंग भएपछि एमएफपी स्थापना भएको हो । त्यसपछि संविधान संशोधन, नयाँ निर्वाचनलगायत मागसहित पिटाकै नेतृत्वमा हजारौं युवा आन्दोलनमा उत्रिएका थिए । यही आन्दोलनको बलमा यसपटकको निर्वाचनमा एमएफपीले जनमत बटुल्न सफल भएको हो ।

