काठमाडाैं । प्रथम राष्ट्रपति डा. रामवरण यादवले प्रजातान्त्रिक विचारको जग, आदर्श र सैद्धान्तिक आधार बलियो रहेको बताएका छन् ।
प्रजातान्त्रिक विचार समाजको १२औं राष्ट्रिय महाधिवेशन तथा २५औं साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विगतमा देशमा समस्या आउँदा गाउँगाउँ पुग्ने कांग्रेस अहिले हराउन थालेकाले प्रजातन्त्रमाथि खतरा देखिएको बताए ।
गिरिजाप्रसाद कोइराला कांग्रेस सभापति हुँदा ३५ जना केन्द्रीय सदस्य भएर पनि देशभर पुग्ने कांग्रेसका नेता कार्यकर्ता एक सय ५० केन्द्रीय सदस्य भएर पनि जनतामा पुग्न नसकेकाले प्रजातनत्रमाथि खतरा आउनेसक्ने बताए । पुरानो प्रजातान्त्रिक दलको निष्क्रियताले प्रजातन्त्रमाथि खतरा आउन सक्ने भएकाले सचेत रहन पनि उनले समाजका सदस्यहरुलाई आग्रह गरेका छन् । प्रजातन्त्र जोगाउन समाजका सदस्यले आलोचनात्मक भएर प्रस्तुत हुनुपर्ने उनको भनाइ थियो ।


