नवलपरासी। हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नवलपरासीमा कारखानाको उद्घाटन गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र सामसङ दक्षिण–पश्चिम एशियाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत जेबी पार्कले टेलिभिजन कारखानाको उद्घाटन गरेका छन्।
उद्घाटन समारोहमा गोल्छा समूहका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छा, नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क चोङ सुक, सामसङ इलेक्ट्रोनिक्सका नेपाल प्रमुख सुङ जुन पार्क लगायतको उपस्थिति थियो।
समारोहमा मन्तव्य राख्दै सामसङ दक्षिण–पश्चिम एशियाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत जेबी पार्कले नयाँ टेलिभिजन कारखानाले नेपालसँग कम्पनीको सम्बन्धलाई अझ मजबूत बनाउने र नेपालीलाई रोजगारीका अवसरहरू उपलब्ध गराउने जनाए। उनले दक्ष जनशक्ति निर्माण गर्न पनि कम्पनीले उल्लेख्य भूमिका निर्वाह गर्ने जनाए।
समारोहलाई सम्बोधन गर्दै गोल्छा समूहका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले विश्वकै सबैभन्दा बृहत् इलेक्ट्रोनिक्स कम्पनी सामसङसँगको सहकार्य नेपाली बजार र अर्थतन्त्रका लागि निकै महत्त्वपूर्ण भएको जनाए । उनले देशको अर्थतन्त्रमा रोजगारी सिर्जना, मूल्य अभिवृद्धि र देशको सीमापारिका अवसरहरूका रूपमा धेरै सकारात्मक सङ्केतहरू देखिएको जनाए ।
नेपालमा बहुराष्ट्रिय कम्पनीले निर्माण गरेको यो पहिलो इलेक्ट्रोनिक्स उत्पादन कारखाना हो। गत भदौ महीनामा यो टेलिभिजन कारखानाको शिलान्यास गरिएको थियो।
नयाँ सुविधायुक्त यस कारखाना नेपालको उत्पादनको यात्रामा एक कोशेढुङ्गा भएको र यसले स्थानीय उद्यम, नयाँ सीप तथा रोजगारीसँगै देशमा इलेक्ट्रोनिक्स क्षेत्रको रूपान्तरण गर्न मद्दत गर्ने कम्पनीको दाबी छ। “देशमा दक्षता र उत्पादकत्व अभिवृद्धि गर्न, अझ धेरै रोजगारहरू सिर्जना गर्न र मजबूत इलेक्ट्रोनिक्स उत्पादन प्रणालीको वातावरण विकास गर्न यसले मद्दत गर्नेछ,” कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
सामसङ नेपाली सर्वसाधारणमाझ दुई दशकभन्दा बढी समयदेखि परिचित छ। यसले नेपालको बजारमा आफ्नो साझेदारसँग मिलेर टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मशिन, माइक्रोवेभ्स जस्ता उपभोग्य इलेक्ट्रोनिक्स सामान र स्मार्टफोन बिक्री गर्दै आएको छ। देशभर सामसङको ५०० वटा इलेक्ट्रोनिक्स खुद्रा पसल र ग्राहक सेवा केन्द्रहरूको सञ्जाल छ।


