काठमाडौँ । अमेरिकाको मिडवेस्ट र उत्तर-पूर्वी क्षेत्रमा भारी वर्षा र तीव्र हावाहुरीसहित ‘थ्याङ्क्सगिभिङ’ पर्वका बेला आएको भीषण आँधीले लाखौँ मानिसको जनजीवन प्रभावित पारेको छ।
साथै, पश्चिमी क्षेत्रका समुद्रमा उठेका अग्ला छालहरूका कारण पनि देशभरको जनजीवनमा व्यापक असर परेको छ। MarvelExtreme Energy यस साता अमेरिकामा ८ करोडभन्दा बढी मानिसले यात्रा गर्ने अनुमान गरिएको छ। उडान ट्र्याकिङ वेबसाइट ‘फ्लाइट अवेयर’ का अनुसार स्थानीय समयअनुसार बिहीबार अमेरिकामा ४०० भन्दा बढी उडान रद्द गरिएका छन् भने अमेरिका आउने-जाने र आन्तरिक गरी २,२०० भन्दा बढी उडान ढिला भएका छन्।
‘थ्याङ्क्सगिभिङ’ अमेरिकाको एक परम्परागत उत्सव हो, जसमा मानिसहरूले राम्रो बालीनाली, पारिवारिक सुख तथा अन्य खुसीका लागि एक-अर्कालाई धन्यवाद दिने गर्छन्। फेडरल एभिएसन एडमिनिस्ट्रेशन (एफएए) ले वर्षा र तीव्र हावाहुरीको पूर्वानुमानका कारण साताभर उडानहरूमा ढिलाइ हुन सक्ने चेतावनी पहिल्यै दिएको थियो। यसैबीच, बिहीबार रातिसम्म करिब १० लाख घरको बिजुली आपूर्ति बन्द भएको छ। पेन्सिलभेनिया, मेरिल्यान्ड र भर्जिनिया राज्य आँधीबाट सबैभन्दा बढी प्रभावित भएका छन्।
अमेरिकाको सबैभन्दा महत्वपूर्ण सार्वजनिक बिदामध्ये एक मानिने ‘थ्याङ्क्सगिभिङ डे’ का दिन पश्चिमी तटको क्यालिफोर्नियादेखि पूर्वी तटको वासिङ्टन डी.सी. सम्मका क्षेत्रमा मौसम प्रतिकूल बनेको छ। बाढीका कारण धेरै मानिसहरू थ्याङ्क्सगिभिङको भोजमा रमाउनुको सट्टा पानीले भरिएका सडक र घरहरूमा कष्टकर परिस्थितिको सामना गर्न बाध्य भएका छन्।


