काठमाडौं । नेपालले आज (आइतबार) यूएईविरुद्ध आफ्नो १००औं एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल खेल्दैछ। कतारमा जारी राइजिङ स्टार्स एसिया कपअन्तर्गत यूएईसँगको खेल नेपाली क्रिकेटका लागि ऐतिहासिक हुनेछ।
नेपालले अहिलेसम्म सबैभन्दा धेरै ओडीआई यूएईविरुद्ध नै खेलेको छ। दुई टोलीबीच २० खेल हुँदा नेपालले १२ जित निकालेको छ भने आठ खेलमा पराजित भएको छ। यूएईविरुद्ध नै नेपालले सबैभन्दा धेरै जित र हार दुवै बेहोरेको छ।
नेपालले पछिल्लोपटक यूएईसँग एसीसी प्रिमियर कपको फाइनलमा प्रतिस्पर्धा गरेको थियो। उक्त खेलमा यूएईलाई पराजित गर्दै नेपाल च्याम्पियन बनेको थियो र एसिया कपमा स्थान बनाएको थियो।
नेपालले सन् २०१८ मा ओडीआई मान्यता पाएपछि अगस्ट १ मा नेदरल्यान्ड्सविरुद्ध पहिलो ओडीआई खेलेको थियो। ऐतिहासिक पहिलो खेलमा नेपालले जित निकाल्न सकेन। नेदरल्यान्ड्सले दिएको १९० रनको लक्ष्य पछ्याएको नेपाल १३४ रनमा अलआउट भएको थियो।
तर, पहिलो खेलको दुई दिनपछि अगस्ट ३ मा नेपालले दोस्रो ओडीआईमै ऐतिहासिक जित दर्ता गर्यो। नेदरल्यान्ड्सले दिएको २१६ रनको लक्ष्य पछ्याएको टोलीलाई अन्तिम ओभरमा जितका लागि ६ रन आवश्यक थियो। कप्तान पारस खड्काले अन्तिम ओभरमा ६ रन रक्षा गर्दै नेपाललाई एक रनको अविस्मरणीय जित दिलाएका थिए।
हालसम्म खेलेका ९९ ओडीआईमा नेपालले ४९ जित निकालेको छ। ४७ खेलमा पराजित भएको नेपालले एक खेल बराबरी खेलेको छ भने दुई खेलको नतिजा आएको छैन।
आज यूएईलाई हराउन सके नेपालले आफ्नो १००औं ओडीआईलाई ५०औं जितसँगै यादगार बनाउन सक्नेछ।


