काठमाडाैं । बिचौलिया इनम सापकोटासँग शंकास्पद कारोबार देखिएका व्यक्तिमाथिको अनुसन्धानलाई प्रहरीले तीव्रता दिएको छ । सापकोटाको बैंक इस्टेटमेन्टको विश्लेषण र बयानका आधारमा थप व्यक्तिमाथि अनुसन्धान अघि बढेको हो ।
सोही क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंले शनिबार व्यवसायी महेश श्रेष्ठलाई कीर्तिपुरबाट पक्राउ गरेको छ । उनी कांग्रेस नेता उमेश श्रेष्ठका भाइ हुन् । हिरासतमा रहेका सापकोटामाथिको अनुसन्धानकै क्रममा उनलाई पक्राउ गरिएको काठमाडौं परिसरका एसपी दानबहादुर थापाले पुष्टि गरे ।
प्रहरी स्रोतका अनुसार सापकोटाको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा रहेको खातामा श्रेष्ठले करिब एक दर्जनपटक पैसा जम्मा गरेको देखिन्छ । उनले करिब तीन करोड रुपैयाँ जम्मा गरेका छन् । जसको आर्थिक कारोबारको कुनै स्रोत भने खुल्दैन । अवैध गतिविधिबापत सो रकम श्रेष्ठले सापकोटालाई दिएको प्रहरी आकलन छ । सापकोटामाथि प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरिरहेको छ । श्रेष्ठ पनि सोही कसुरमा तानिएको प्रहरी स्रोत बताउँछ ।
सापकोटासँग आर्थिक कारोबार देखिएपछि यसअघि लगानी बोर्डका पूर्वसिइओ सुशील भट्टलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सापकोटाले उनका भाइ दीपक भट्टलाई छुटाउनका लागि सहजीकरण गर्ने आश्वासन दिएका थिए । सोही सूचनाका आधारमा प्रधानमन्त्रीको सचिवालयको निर्देशनमा प्रहरीले सापकोटालाई पक्राउ गरेको थियो । उनलाई सूचना दिएकै आधारमा सरकारले सशस्त्र प्रहरी बलका एआइजी वंशीराज दाहाललाई सेवाबाट हटाएको थियो । अन्य केही उच्च सरकारी अधिकारी पनि छानबिनमा छन् ।
सर्वोच्च अदालतका न्यायाधीश हरि प्रसाद फुयालसँग पनि सापकोटाको निकटता बाहिर आइसकेको छ । उनीहरूबिच मुद्दाका विषयमा समेत ह्वाट्सएपमा नियमित च्याट भएको र हिमालय होटेलमा भेट भएको खुल्ने संवाद सार्वजनिक भइसकेको छ । जसलाई न्यायाधीश फुयाल स्वयंले स्वीकार गरेका छन् । सोही प्रकरणमा फुयालमाथि संसद्मार्फत छानबिनको तयारी भइरहेको छ ।
गत १४ असोजमा पक्राउ परेका सापकोटाको नेता, उच्च तहका सुरक्षाकर्मी, न्यायाधीशलगायतसँग घनिष्ठता देखिएको छ । उनले मुद्दा जिताइदिने भनेर कतिपय व्यक्तिसँग डिल गरेको समेत अनुसन्धानमा खुलेको छ । काठमाडौं प्रहरी परिसरले एसपी नरहरी रेग्मीको नेतृत्वमा छुट्टै छानबिन समिति गठन गरी सापकोटाको सञ्जालमा रहेका व्यक्तिहरूमाथि अनुसन्धान गरिरहेको छ ।


