काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन जाने भएको छ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा प्रतिनिधिमण्डल आगामी कात्तिक २९ गते चीन प्रस्थान गर्ने पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्।
भ्रमणका क्रममा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा जनअपेक्षाअनुरूपको राजनीतिक नेतृत्वलगायतका विषयमा अनुभव आदानप्रदान र छलफल हुने रास्वपाले जनाएको छ।
रास्वपाले भ्रमणलाई नेपाल–चीन सम्बन्ध, राजनीतिक संवाद तथा विकास सहकार्य विस्तार गर्ने अवसरका रूपमा लिएको छ।
चीन जाने प्रतिनिधिमण्डलमा कोको?
महामन्त्री आचार्यको नेतृत्वमा जाने टोलीमा गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा, रमेश कुमार सापकोटा, डा. धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा. राम लामा, पुनमकुमारी अग्रवाल, डा. आनन्दबहादुर चन्द, डा. सुजाता तामाङ, पुष्पा कुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा छन्।
भ्रमणमा महामन्त्रीसहित २० जना सहभागी हुनेछन्।


