काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले सरकारबाट हुने अनुसन्धानहरू निष्पक्ष हुनेमा गम्भीर प्रश्न उठाएका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले विगतमा बनेका विभिन्न छानबिन समितिका प्रतिवेदनहरू सार्वजनिक नगरी दराजमा थन्क्याइएको भन्दै सरकारको नियतमाथि प्रश्न गरेका हुन्। पत्रकार सम्मेलनमा बोल्दै थापाले घटना सामसुम पार्न समिति बनाउने तर त्यसका प्रतिवेदन गुपचुप राख्ने सरकारी प्रवृत्तिप्रति आक्रोश पोखे। ‘सरकारबाट अनुसन्धान फेयर (निष्पक्ष) हुन्छ भन्नेबारेमा हाम्रो ठुलो प्रश्न छ,’ थापाले भने, ‘अब छानबिन समिति पनि के माग्ने ? विगतका नजिर हेर्दा समिति गठन औपचारिकतामा मात्र सीमित भएको देखिन्छ।’
थापाले विगतमा गठन भएका विभिन्न छानबिन समितिका प्रतिवेदनहरूको खोजी गर्दै सरकारलाई प्रश्न गरे। ‘गृहमन्त्रीको सम्पत्तिबारे प्रश्न उठेपछि छानबिन समिति बनेको होइन ? खै त्यसको प्रतिवेदन कहाँ छ ?,’ उनले प्रश्न गरे, ‘त्यस्तै भाद्र २४ को घटना र सुनसरीको कप्तानगञ्ज घटनाबारे बनेका समितिका प्रतिवेदनहरू अहिले कहाँ छन् ?’ Laxmi sunrise bank सरकारले प्रतिवेदनहरूलाई आफ्नो राजनीतिक स्वार्थअनुसार मात्र प्रयोग गरेको आरोप लगाउँदै उनले भने, ‘आफूलाई जे चाहिएको छ, त्यो मात्र प्रयोग गरिएको छ, बाँकी सबै प्रतिवेदनहरू थन्क्याइएको छ। यसरी जनतालाई गुमराहमा राखेर नागरिकलाई सरासर हेप्ने काम भएको छ।’
सभापति थापाले सरकारको यस्तो गैरजिम्मेवार र स्वेच्छाचारी चरित्रविरुद्ध सचेत रहन आम नागरिकलाई आग्रहसमेत गरे। राज्यका गतिविधिको जबाफदेहिता खोज्न नागरिकस्तरबाटै खबरदारी आवश्यक रहेको औँल्याउँदै उनले भने, ‘सरकारका यी सबै कदम र प्रवृत्तिको नागरिकले सचेततापूर्वक निगरानी गर्नुपर्छ।’

