काठमाडौँ। पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लाको रहिम बजारमा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर भत्काएर व्यापारिक भवन (सपिङ प्लाजा) निर्माण गर्न खोजिएको घटनाप्रति विश्व हिन्दू परिषद् नेपालले कडा आपत्ति जनाएको छ। परिषद्अन्तर्गतको मठ-मन्दिर, अर्चक तथा पुरोहित विभागले प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाको घोर भर्त्सना गरेको हो।
जारी विज्ञप्तिमा ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको मन्दिरलाई व्यापारिक स्वार्थका लागि भत्काउने प्रयास गर्नु निन्दनीय र अमानवीय कार्य भएको उल्लेख गरिएको छ। विज्ञप्तिमा धार्मिक आस्था, ऐतिहासिक पहिचान तथा सांस्कृतिक सम्पदामाथि हुने यस्ता आक्रमणले विश्वभरका सनातन धर्मावलम्बीहरूको भावनामा गम्भीर चोट पुर्याउनुका साथै धार्मिक स्वतन्त्रता र अल्पसंख्यक समुदायको अधिकारमाथि प्रश्न खडा गर्ने जनाइएको छ।
स्थानीय हिन्दू समुदाय तथा नागरिक समाजका अभियन्ताहरूको विरोधपछि मन्दिर भत्काउने प्रयास रोकिएको र स्थानीय प्रशासन तथा इभाकुई ट्रस्ट प्रपर्टी बोर्ड (ETPB) ले मन्दिर सिल गरेको जानकारी प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ। परिषद्ले मन्दिर भत्काउने प्रयास रोक्नु मात्र पर्याप्त नभएको भन्दै यसको दीर्घकालीन संरक्षण, सुरक्षा तथा जीर्णोद्धारका लागि ठोस व्यवस्था गर्न माग गरेको छ।
मन्दिर संरक्षण र दोषीमाथि कारबाहीको माग
विश्व हिन्दू परिषद् नेपालले ऐतिहासिक रामलीला मन्दिर भत्काउने प्रयासमा संलग्न व्यक्ति तथा समूहको निष्पक्ष छानबिन गरी दोषीलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न पाकिस्तान सरकार तथा सम्बन्धित निकायसमक्ष माग गरेको छ।
परिषद्ले मन्दिरलाई ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाका रूपमा कानुनी संरक्षण प्रदान गर्न, यसको मौलिक स्वरूप कायम राख्दै आवश्यक जीर्णोद्धार गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी सुरक्षा व्यवस्था गर्न आग्रह गरेको छ।
विज्ञप्तिमा पाकिस्तानमा रहेका हिन्दू समुदायका मठ-मन्दिर, धार्मिक स्थल तथा सांस्कृतिक सम्पदाको सुरक्षा सुनिश्चित गर्न र अल्पसंख्यक समुदायलाई संविधान तथा कानुनले प्रत्याभूत गरेका धार्मिक एवं सांस्कृतिक अधिकारको निर्बाध उपभोग गर्ने वातावरण बनाउनसमेत जोड दिइएको छ।
विश्वभरका हिन्दू धार्मिक सम्पदामाथिका घटनाप्रति चिन्ता
परिषद्ले पाकिस्तानमा भएको घटनालाई ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षणसँग जोडिएको गम्भीर विषयका रूपमा प्रस्तुत गर्दै विश्वका विभिन्न मुलुकमा हिन्दू मठ-मन्दिर तथा सांस्कृतिक धरोहरमाथि हुने तोडफोड र आक्रमणप्रति चिन्ता व्यक्त गरेको छ।
विभिन्न देशमा धार्मिक स्थलमाथि हुने आक्रमणले धार्मिक सहिष्णुता, सांस्कृतिक विविधता र धार्मिक स्वतन्त्रताको सम्मान गर्ने विश्वव्यापी प्रतिबद्धतामाथि चुनौती खडा गर्ने परिषद्को धारणा छ। ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण गर्नु सम्बन्धित सरकार, स्थानीय समुदाय र अन्तर्राष्ट्रिय समुदायको साझा दायित्व भएको विज्ञप्तिमा उल्लेख छ।
धार्मिक सम्पदाको रक्षाका लागि ऐक्यबद्धताको आह्वान
विभागका राष्ट्रिय अध्यक्ष दीपक आचार्यले मन्दिरहरू केवल भौतिक संरचना मात्र नभई इतिहास, संस्कृति, धार्मिक आस्था र सभ्यताका अमूल्य धरोहर भएको उल्लेख गर्नुभएको छ। उहाँले प्राचीन रामलीला मन्दिरको अस्तित्व समाप्त पार्ने प्रयासमा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन र मन्दिरको संरक्षण सुनिश्चित गर्न सम्बन्धित निकायसँग आग्रह गर्नुभएको छ।
परिषद्ले पाकिस्तान सरकार, सम्बन्धित प्रशासनिक निकाय, अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था तथा सम्पदा संरक्षणसम्बन्धी निकायहरूको ध्यानाकर्षण गराउँदै विश्वभरका हिन्दू समुदाय, मानवअधिकारकर्मी र सांस्कृतिक सम्पदा संरक्षणमा क्रियाशील पक्षलाई ऐतिहासिक तथा धार्मिक धरोहरको रक्षाका लागि शान्तिपूर्ण रूपमा आवाज उठाउन अपिल गरेको छ।
परिषद्को धारणा अनुसार कुनै पनि समुदायको धार्मिक आस्था, सांस्कृतिक पहिचान तथा ऐतिहासिक सम्पदामाथि हुने आक्रमण स्वीकार्य हुन सक्दैन। धार्मिक सहिष्णुता, आपसी सम्मान र सम्पदाको संरक्षण सुनिश्चित गर्नु सबैको साझा जिम्मेवारी हो।


