काठमाडौं । बडादसैँको पहिलो दिन घटस्थापनाका अवसरमा भक्तपुरको ऐतिहासिक तथा धार्मिक स्थल ब्रह्मायणी मन्दिर परिसरमा जमरा राख्न आवश्यक पवित्र माटो संकलन गर्ने भक्तजनको भीड लागेको छ ।
बिहानैदेखि स्थानीय बासिन्दा तथा भक्तजनहरू मन्दिर नजिकैको ब्रह्मायणी घाटमा माटो लिन पुगेका हुन्।
नेवारी संस्कृति तथा दसैँ परम्परामा ब्रह्मायणी घाटको बालुवा मिश्रित माटोलाई विशेष महत्त्वका साथ लिने गरिन्छ। यस स्थानको माटोमा जमरा उमार्दा राम्रो, पहेँलो र पुष्ट हुने जनविश्वास रहेको छ ।
नवदुर्गा भवानीको पहिलो स्वरूपसँग सम्बन्धित शक्तिपीठका रूपमा पूजिँदै आएको ब्रह्मायणी मन्दिर परिसरबाट माटो ल्याएर घरको दसैँ घर वा पूजाकोठामा जमरा राख्ने परम्परा पुस्तौँदेखि चल्दै आएको छ।
घटस्थापनाका दिन संकलन गरिएको माटोमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी जौ, धान तथा मकै छर्ने चलन छ । यसरी राखिएको जमरालाई नवरात्रभरि हरेक बिहान पूजा गरी जल अर्पण गरिन्छ ।
भक्तपुरको ब्रह्मायणी मन्दिरमा घटस्थापनाका दिन माटो संकलन गर्न भक्तजनको उपस्थिति रहनुले यहाँको मौलिक संस्कृति, धार्मिक आस्था र परम्पराप्रतिको निरन्तरतालाई झल्काउने सस्कृतविद्हरु बताउँछन् ।


