काठमाडाैं । रश्मिला प्रजापति अध्यक्ष नेवाः देय् दबू केन्द्रीय समितिले कोशी प्रदेशको सरकारी कामकाजको भाषामा नेपालभाषा समेत समावेश गरिएकोमा हार्दिक धन्यवाद तथा स्वागत व्यक्त गरेका छन् ।
कोशी प्रदेशसभाबाट शनिबार२०८३ आश्विन २४ गते पारित भएको “सरकारी कामकाजको भाषासम्बन्धी ऐन, २०८३” मार्फत नेपाली भाषाका अतिरिक्त नेपालभाषालगायत १३ वटा रैथाने तथा स्थानीय भाषाहरूलाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा कानुनी मान्यता प्रदान गरिएको ऐतिहासिक निर्णयप्रति नेवाः देय् दबू हार्दिक स्वागत एवं धन्यवाद व्यक्त गर्दछ ।
नेपालको संविधानले परिकल्पना गरेको बहुभाषिक, बहुसांस्कृतिक र समावेशी चरित्रलाई यस ऐनले व्यवहारतः सम्बोधन गर्ने दिशामा कोशी प्रदेश सरकार र प्रदेशसभाले महत्त्वपूर्ण कदम चालेको हामीले महसुस गरेका छौँ । नेपालभाषालाई प्रदेशको सरकारी कामकाजको भाषाको रूपमा औपचारिक मान्यता दिनु भनेको यस भाषा बोल्ने नेवाः समुदायको पहिचान, संस्कृति र यसको गौरवशाली इतिहासको कदर हुनु हो ।
हामी आशा गर्दछौँ कि यस ऐनको प्रभावकारी कार्यान्वयनका लागि गठन हुने विज्ञ समूहमा सबै मान्यता प्राप्त भाषिक समुदायका प्रतिनिधि र भाषाविज्ञको न्यायोचित प्रतिनिधित्व सुनिश्चित गर्ने तथा सम्बन्धित निकायहरूले सबै भाषाको समान विकास, संरक्षण र प्रवर्द्धनका लागि ठोस नीति तथा कार्ययोजना अगाडि बढाउनेछन् । साथै आगामी दिनमा पनि सबै मातृभाषाहरूको संवैधानिक अधिकार र समतामूलक विकासका लागि कोशी प्रदेश सरकार सधैँ प्रतिबद्ध रहनेछ भन्ने हामीले विश्वास लिएका छौँ ।
अन्त्यमा, नेपालभाषासहित बहुभाषी अधिकारलाई स्थापित गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ दिनुहुने सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, आदिवासी जनजाति संघसंस्था, मिडियाकर्मी तथा आन्दोलनरत पक्षहरूमा नेवाः देय् दबूको तर्फबाट पुनः एकपटक आभार प्रकट गरेका छन् ।


