काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य गरेका छन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतका अनुसार अधिवेशन असोज १६ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएको हो।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गरेका हुन्।
नेपालको संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संघीय संसद्को अधिवेशन अन्त्य गर्ने व्यवस्था छ।
वैशाख २८ गतेदेखि सुरु भएको यस चालु अधिवेशनमा सरकारले बजेट तथा बजेटसँग सम्बन्धित कानुन निर्माण गरेको छ ।
यस अवधिमा संसद् नभएको बेला सरकारले ल्याएका अध्यादेश स्वीकृत भएका छन् भने तिनै अध्यादेशले संशोधन गरेका विषय समेटेर ल्याइएका प्रतिस्थापन विधेयकहरू पनि संसद्बाट पारित भएर ऐनमा रूपान्तरित भएका छन्।


