काठमाडाैं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको फिफा वरीयता सुधार भएको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले बिहीबार सार्वजनिक गरेको नयाँ फिफा वरीयतामा एक स्थान सुधार गर्दै नेपाल १७४ औं स्थानमा उक्लिएको छ । यसअघि सार्वजनिक वरीयतामा नेपाल १७५ औं स्थानमा रहेको थियो । नेपालले केहि साता अघि घरेलु मैदानमा सम्पन्न प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न प्रतियोगिताको फाइनलमा नेपालले लाओसलाई २-१ गोलले पराजित गरेको थियो ।
नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयताको तेश्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि भारत १ सय १ तथा माल्दिभ्स १ सय ५६ औं स्थानमा रहेको छ । नेपाल भन्दा तल भुटान १ सय ८५ औं, बंगलादेश १ सय ९२ औं, पाकिस्तान १ सय ९५औं र श्रीलंका २ सय ७ औं स्थानमा रहेको छ । नयाँ वरीयतामा २०२२ को विश्वकप विजेता अर्जेन्टिना एक स्थान सुधार गर्दै शिर्ष स्थानमा उक्लिदा दुई स्थान सुधार गरेको फ्रान्स दोश्रो स्थानमा उक्लिएको छ । यस्तै ब्राजित तेश्रो स्थानमा झर्दा बेल्जियम चौंथो र पाँचौंमा स्थानमा इङ्गल्याण्ड रहेको छ । नेदरल्याण्ड्स छैठौं, क्रोएशिया सातौं, इटाली आठौं, पोर्चुगल नवौं र स्पेन दशौं स्थानमा रहेको छ ।