काठमाडाैं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो चार वर्षे सफल कार्यकाल पूरा गरी स्वदेश फर्कने भएका छन्।
कार्यकाल समापनको सन्दर्भमा राजदूत श्रीवास्तवले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगी प्रधानमन्त्री वालेन्द्र शाहसँग विदाई भेट गरेका छन्।
मंगलबार बिहान भएको भेटघाटका क्रममा प्रधानमन्त्री शाहले नेपाल र भारतबीचको सम्बन्ध सदैव सुमधुर र प्रगाढ रहँदै आएको चर्चा गरे। हालैको विनाशकारी बाढीपहिरो तथा विपद्का वेला भारत सरकारले पुर्याएको तत्काल सहायता, उद्धार तथा राहत सामग्रीका लागि विशेष धन्यवाद ज्ञापन गर्दै प्रधानमन्त्री शाहले सफल कार्यकालका लागि बधाई र आगामी यात्राको शुभकामना व्यक्त गरे।
भेटका अवसरमा राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा दुई देशबीच थुप्रै महत्त्वपूर्ण विकास परियोजनाहरू सफलतापूर्वक सम्पन्न भएको उल्लेख गरे। नेपाल बसाइका क्रममा नेपाल सरकार र नेपाली जनताबाट प्राप्त निरन्तर सहयोग तथा आत्मीयताका लागि उनले आभार व्यक्त गरे। ऊर्जा र पूर्वाधार सहकार्यमा फड्को २५ जुन २०२२ मा नेपालका लागि भारतीय राजदूतको जिम्मेवारी सम्हालेका श्रीवास्तवको कार्यकाल विशेषगरी ऊर्जा सहकार्य र सीमापार कनेक्टिभिटीका दृष्टिले फलदायी मानिन्छ।
उनको कार्यकालमा नेपालबाट भारततर्फ दीर्घकालीन रूपमा १० हजार मेगावाटसम्म विद्युत् निर्यात गर्ने ऐतिहासिक समझदारी हुनुका साथै तेस्रो देश बंगलादेशसम्म नेपाली विद्युत् व्यापारको बाटो खुलेको थियो। यसैगरी, दुई देशबीच व्यापार र जनस्तरको सम्बन्ध विस्तारमा पनि उनको कार्यकालमा निरन्तर संवाद र सहकार्य भयो। नेपाल–भारत वाणिज्य तथा उद्योग संघको समन्वयमा ‘बिजनेस क्लाइमेट सर्वे’, ‘इन्भेस्टमेन्ट गाइडबुक’ तथा ‘आलु शिखर सम्मेलन’ जस्ता व्यावसायिक पहलहरू अघि बढेका थिए।
पछिल्लो समय भोटेकोशीमा आएको भीषण बाढीपछि खोज, उद्धार, राहत सामग्री तथा प्राविधिक सहयोग उपलब्ध गराउन श्रीवास्तवले भारत सरकारका तर्फबाट प्रभावकारी समन्वय गरेका थिए। प्रधानमन्त्रीसँगको विदाई भेटसँगै राजदूत श्रीवास्तव आफ्नो सफल कूटनीतिक कार्यकाल पूरा गरी छिट्टै भारत फर्किनेछन्।


