सुर्खेत । लगातार वर्षाका कारण प्रदेश राजधानी वीरेन्द्रनगरसहित सुर्खेतका विभिन्न क्षेत्रमा विद्युत् सेवा प्रभावित भएको छ । वर्षाका कारण विद्युत् प्रसारणका पोलहरुमा रुख ढल्दा जिल्लाका अधिकांश ठाउँमा विद्युत् सेवा प्रभावित भएको हो ।
विद्युत् प्राधिकरण सुर्खेतका अनुसार सुब्बाकुना–रामघाट ३३ केभी लाइनमा रुख ढलेर अवरुद्ध भएको छ । रुख हटाई मर्मतसम्भारको काम भइरहेकाले उक्त लाइन छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको प्राधिकरणले जनायको छ । त्यस्तै, लम्की–बाबियाचौर ३३ केभी लाइनमा रुख ढलेर ठूलो क्षति पुगेका कारण तत्काल विद्युत् सेवा सञ्चालन गर्न नसकिने प्राधिकरणले जनाएको छ ।
उक्त क्षेत्रमा विद्युत् सेवा सञ्चालनका लागि सुर्खेत–बाबियाचौर ३३ केभी लाइनको फल्ट क्लियर गर्ने प्रयास भइरहेको बताइएको छ । वीरेन्द्रनगर बजार फिडरको ११ केभी लाइनको पोल ढल्दा आंशिक रूपमा मात्रै विद्युत् सेवा सञ्चालनमा रहेको छ ।
पोल मर्मत गरेपछि उक्त फिडर पूर्ण रूपमा सञ्चालनमा आउने प्राधिकरणले जनाएको छ । सीतापाइला फिडरमा समेत फल्ट देखिएकाले फल्ट पत्ता लगाएर लाइन सञ्चालनमा ल्याउने काम भइरहेको बताइयको छ । लगातारको वर्षातका कारण अन्य विभिन्न स्थानमा पनि ११ केभी तथा एलटी लाइनका पोल ढलेका कारण विद्युत् सेवा अवरुद्ध भएको छ । ती क्षेत्रमा मर्मतसम्भार गरी क्रमश: विद्युत् सेवा सञ्चालनमा ल्याउने काम भइरहेको प्राधिकरणले जनाएको छ ।


